निजामती कर्मचारीलाई प्रदेशमै उपचार सुविधा, पोखरामै शुरू भयो सहुलियत स्वास्थ्य सेवा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
240
Shares
कास्की । निजामती कर्मचारी र उनीहरूका परिवारले अब काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने भएको छ। निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पनि निजामती कर्मचारी अस्पतालसरह छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ।
एक साताअघि भएको सम्झौतापछि आवश्यक व्यवस्थापनको काम पूरा गरी सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।
उनका अनुसार अब निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले पोखरामै सहुलियतपूर्ण स्वास्थ्य सेवा लिन सक्नेछन्।
यस व्यवस्थाअन्तर्गत ओपिडी, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया लगायत अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवामा निजामती कर्मचारी अस्पतालले तोकेअनुसारको छुट र सुविधा प्रदान गरिनेछ। सहुलियत उपचार कार्ड भएका लाभग्राहीले उक्त सेवा उपभोग गर्न सक्नेछन्।
सेवा लिनका लागि निजामती कर्मचारी अस्पतालले जारी गरेको उपचार सहुलियत परिचयपत्रको सक्कल, हाल कार्यरत कर्मचारीको कार्यालय परिचयपत्र तथा सेवा निवृत्त कर्मचारीका हकमा पेन्सन पट्टाको प्रतिलिपि पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।
यो सेवा विस्तारले गण्डकी प्रदेश तथा आसपासका जिल्लाका हजारौँ निजामती कर्मचारी र उनीहरूका परिवारलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। सामान्यदेखि विशेषज्ञ उपचारका लागि काठमाडौँ पुग्नुपर्ने खर्च, समय र झन्झट कम हुनुका साथै प्रदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर बढेको छ।
सरकारले काठमाडौं उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न प्रदेशका अस्पतालसँग सहकार्य गर्दै आएको छ।
पोखरामा सेवा विस्तार हुनु संघीय संरचनाअनुसार सेवा विकेन्द्रीकरण र नागरिकमैत्री स्वास्थ्य पहुँच विस्तार गर्ने कदमका रूपमा समेत हेरिएको छ। रासस