ललितपुर महानगरमा ई-चलान प्रणाली, क्यूआरबाटै जरिबाना तिर्न सकिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
270
Shares
काठमाडौँ। ललितपुर महानगरपालिकाले सवारी व्यवस्थापन र नगर प्रहरीको कार्बाही प्रक्रियालाई थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउन ई-चलान प्रणाली लागू गरेको छ। अब जथाभावी पार्किङ वा अन्य ट्राफिकसम्बन्धी जरिवाना क्यूआर कोडमार्फत तुरुन्त तिर्न सकिने भएको छ।
सोमबार आयोजित ई-चलान शुभारम्भ कार्यक्रममा मेयर चिरिबाबु महर्जनले प्रणाली सोमबारदेखि नै लागू गरिएको जानकारी दिए। उनका अनुसार महानगरले सेवा प्रवाहलाई आधुनिक र सहज बनाउने लक्ष्यसहित विभिन्न डिजिटल प्रविधिहरू विस्तार गर्दै आएको छ।
मेयर महर्जनले यसअघि स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटजस्ता प्रविधि प्रयोगमा ल्याइसकिएको उल्लेख गर्दै ई-चलान प्रणाली त्यसकै निरन्तरता भएको बताए। उनले सेवाग्राहीलाई जरिवाना तिर्न कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो प्रणाली ल्याइएको स्पष्ट पारे।
महानगरले ट्राफिक नियम उल्लङ्घनसम्बन्धी कारबाहीलाई पारदर्शी, छिटो र सहज बनाउन यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरेको छ। नगर प्रहरी प्रमुख र प्राविधिक साझेदार संस्थासँगको सहकार्यमा प्रणाली सञ्चालनमा ल्याइएको जनाइएको छ।
महानगरका अनुसार नयाँ प्रणालीमार्फत डिजिटल भुक्तानी सम्भव भएपछि सेवा प्रवाहमा समय बचत हुने र व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।