काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा ललितपुर निर्वाचन क्षेत्र नं २ का उम्मेद्वार प्रेमकृष्ण महर्जनले आगामी वैशाख २१ गते हुने निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकतामै सबैभन्दा ठूलो बल रहेको बताएका छन्।
ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अन्य विषयलाई थाती राखेर तिमीहरू सबैले आफ्नो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए।
पार्टीभित्र बलियो एकता कायम हुन सके कांग्रेसले विगतमा जस्तै शानदार सफलता हासिल गर्ने उनको दाबी छ।
महर्जनले पार्टीका नेताहरू र महामन्त्री गगन थापाबीच भइरहेको संवादले देशभर सकारात्मक सन्देश दिएको र यसले कार्यकर्तामा थप उत्साह जगाएको बताए।
उनले चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिँदै माहोल बनेकै भरमा निर्वाचन नजितिने स्पष्ट पारे।
हरेक वडा र इकाइका साथीहरू घर-घर पुग्नुपर्ने र प्रत्येक मतदातालाई प्रत्यक्ष भेट्नुपर्नेमा उनले जोड दिए।
मतदाताको मन जित्नसके ललितपुरका १, २ र ३ नम्बर क्षेत्रमा कांग्रेसको जित सुनिश्चित हुने उनले बताए।
आफ्नो उम्मेदवारी र विकासका योजनाबारे चर्चा गर्दै महर्जनले ललितपुर महानगरपालिकाका मेयर र प्रदेश माननीयहरूले गरेका काम नै आफ्नो जितको मुख्य आधार भएको बताए।
२०४८ सालमा कांग्रेसले बहुमत प्राप्त गर्दा, २०५६ सालमा किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिँदा र २०७० सालमा पार्टी एकढिक्का हुँदा सफलता हासिल भएको उनले स्मरण गराए।
अहिले फेरि देशभर र विशेषगरी ललितपुरमा २०७० सालकै जस्तो लहर आएको उनको भनाइ छ।
आफूलाई पार्टीको एउटा इमान्दार ‘सिपाही’ का रूपमा चित्रण गर्दै महर्जनले वरिष्ठ नेताहरूको सद्भाव र कार्यकर्ताको भरोसामै आफू अगाडि बढेको बताए।
भोलि जिम्मेवारी पाए मतदाता र कार्यकर्ताको शिर उच्च राख्ने गरी काम गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।