छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
949
Shares
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशतको 'थ्रेसहोल्ड' पार गरेका छ राजनीतिक दलले आज समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार आज बेलुकी ५:०० बजेसम्म सबै दलले क्लस्टर (समूह) मिलाएर उम्मेदवारको नाम पेस गर्नुपर्नेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ कुल १ करोड ८ लाख ३५ हजार २५ सदर मतमध्ये प्राप्त मतका आधारमा सिट सङ्ख्या निर्धारण गरिएको छ। सबैभन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना सांसदको सूची बुझाउनुपर्नेछ। त्यस्तै, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपाले ९, तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४-४ जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ।
आयोगले दलहरूबाट प्राप्त नामावली तोकिएको क्लस्टर र कानुनी प्रावधान अनुसार मिलेको खण्डमा आजै निर्वाचित उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ। यदि नाम र क्लस्टर नमिलेमा सच्याउनका लागि पुनः समय उपलब्ध गराइनेछ। समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा कुल ११० जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ।