सुशासन र प्रभावकारी सेवा प्रवाह नै जनताको मुख्य चाहना: राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
226
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र प्रगतिलाई नै नेपाली जनताको मुख्य चाहना भएको बताएका छन्।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि लामो संघर्ष र बलिदान गरेका नागरिकको अपेक्षा राज्य संयन्त्र जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बन्नुपर्नेमा केन्द्रित रहेको स्पष्ट पारे।
राष्ट्रपति पौडेलले आधुनिक प्रशासनलाई आत्मप्रेरित, अनुशासित, नैतिकवान र जिम्मेवार कर्मचारीतन्त्रले मात्र प्रभावकारी बनाउन सक्ने उल्लेख गर्दै प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिए। “यसले मात्र लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसा मजबुत हुन्छ,” उनले भने।
उनले संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र त्यसलाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताए।
आयोगप्रति नागरिकको भरोसा कायम राख्दै योग्य युवाहरूलाई अवसर दिने प्रणाली अझ पारदर्शी र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले लोकसेवा आयोगलाई सरकारी सेवामा योग्य जनशक्ति छनोट गर्ने संवैधानिक रूपमा महत्वपूर्ण निकायका रूपमा उल्लेख गर्दै यसको कार्यशैलीलाई समयानुकूल प्रविधिमा आधारित बनाउन आग्रह गरे।
कर्मचारी छनोट, बढुवा र परामर्शमा आयोगले हालसम्म गरेको काम प्रशंसनीय भए पनि आगामी दिनमा अझ आधुनिक, वैज्ञानिक र गुणस्तरीय बनाउनु पर्ने चुनौती रहेको उनले औँल्याए।
उनले साढे सात दशकदेखि आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा गरेको योगदानले राज्य प्रशासनको मेरुदण्ड मजबुत बनाएको उल्लेख गर्दै भविष्यमा पनि सोही मूल्य र मान्यतालाई अझ सुदृढ रूपमा अघि बढाउनुपर्ने सुझाव दिए।