प्रकृतिमुखी जीवनशैली अपनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
126
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन्।
विश्व वातावरण दिवस (जुन ५) २०२६ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास र प्राकृतिक सम्पदाको संरक्षणमार्फत नै भावी पुस्ताका लागि सुरक्षित एवं हरित भविष्य निर्माण गर्न सकिने बताएका छन्।
जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै उनले जलवायु परिवर्तन भविष्यका लागि खतरा मात्र नरहेर वर्तमान समयमा नै यसको प्रत्यक्ष प्रभाव देखिन थालेको तर्फ ध्यानाकर्षण गराए। नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढीपहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएको भन्दै उनले प्रकृति र वातावरण मानव जीवनको आधार भएकाले स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए।
राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिताका लागि यस दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी कामना गरेका छन्। यो विशेष दिनले हामी सबैलाई वातावरण संरक्षणतर्फ सचेत, जिम्मेवार र सक्रिय बन्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले सन्देशमा व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको आह्वान बमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्ष नेपालमा पनि ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ।