इलामको सूर्योदयका ५३ वटा चिया उद्योग असार १ देखि बन्द हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
247
Shares
काठमाडौँ । भारत सरकारले नेपाली चिया आयातमा नयाँ र झन्झटिलो नियम (एसओपी) लागू गरेपछि पूर्वी नेपालको प्रमुख चिया उत्पादक क्षेत्र इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योग बन्द हुने भएका छन्। ५३ वटा उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योगको सम्पूर्ण उत्पादन र प्रशोधन कार्य पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो।
भारतीय बजारमा निर्यातका लागि पठाइएको चिया सीमा नाका र गोदामहरूमा अलपत्र परेको तथा उत्पादित चिया भण्डारण गर्ने क्षमता समेत सकिएपछि उद्योगीहरूले बाध्य भएर बन्दको निर्णय लिएका हुन्। एसोसिएसनका अनुसार हाल भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगहरूका आफ्नै गोदाममा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। यो नयाँ व्यवस्था अनुसार चिया बोकेको प्रत्येक गाडीको छुट्टाछुट्टै गुणस्तर परीक्षण गर्नुपर्ने, प्रयोगशालाबाट परीक्षणको प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा नेपाल नै फिर्ता ल्याउनुपर्ने बाध्यता छ।
यसअघि चिया कोलकाता पुगेपछि सहजै बिक्री हुने गरेकोमा हाल भारतीय चिया बोर्डका अधिकारीहरूले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना सङ्कलन गर्न थालेका छन्। आधा दर्जनभन्दा बढी ट्रकको नमुना सङ्कलन गरिएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा बिक्री ठप्प भएको छ। लामो समय गोदाममा थन्किँदा चियाको स्वाद र गुणस्तर ह्रास हुने जोखिम उच्च रहेको सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले बताए।
सूर्योदय नगरपालिकामा मात्र ६५ भन्दा बढी चिया उद्योग छन्, जसमा एसोसिएसनमा आबद्ध ५३ उद्योग एकै पटक बन्द हुँदा हजारौँ चिया किसान र मजदुर प्रत्यक्ष प्रभावित हुने भएका छन्। तथ्याङ्क अनुसार सूर्योदय नगरपालिकाभित्र मात्र २ हजार ९ सय ९५ चिया किसान छन्। यहाँ ३३ हजार ६ सय ५५ रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक २ करोड किलो हरियो पत्ती उत्पादन हुन्छ।
उद्योग बन्द हुने भएपछि किसानहरूमा आफ्नो हरियो पत्ती नसड्ने र आम्दानीको मुख्य स्रोत नै गुम्ने चिन्ता बढेको छ। किसान राजन भट्टराईले उद्योग बन्द भएपछि हरियो पत्ती नबिक्ने र परिवार कसरी चलाउने भन्ने ठुलो पिरलो थपिएको दुखेसो पोखे। उद्योगी गोपाल कट्टेलले भारतले विभिन्न प्राविधिक झन्झट सिर्जना गरेर नेपाली चिया रोकेकाले उद्योग चलाउनै नसक्ने अवस्था आएको भन्दै अवरोध हटाउन सङ्घीय सरकारले तत्काल कूटनीतिक पहल नगरे अर्बौँ रुपैयाँको चिया बजार सदाका लागि गुम्ने चेतावनी दिए।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुने गरेको छ। यसरी निर्यात हुने कुल चियाको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमै जाने गर्दछ। नेपालमा अर्थोडक्स चिया मुख्य रूपमा इलाम, पाँचथर र धनकुटा जिल्लामा उत्पादन हुन्छ, जसबाट वार्षिक सवा ४ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक मुद्रा आर्जन हुने गरेको छ। चिया क्षेत्रमा देखिएको यो गम्भीर सङ्कट समाधानका लागि सूर्योदय नगरपालिकाले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालय र नेपाल सरकारसँग जोडदार माग गरेको छ।