विश्वकपको पहिलो खेलमा ब्रजिल बराबरीमै रोकियो, मोरक्कोले देखायो रबाफ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
273
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्रजिलले पहिलो खेलमै बराबरीमा चित्त बुझाएको छ ।
ब्रजिललाई समूह सीको खेलमा अफ्रिकन जायन्ट मोरक्कोले बराबरीमा रोकेको हो । न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा ब्रजिल १-१ गोलको बराबरीमा रोकिएको हो । मध्यान्तरपछि कुनै गोल नहुँदा ब्रजिल अंक बाँड्न बाध्य भयो ।
खेलमा मोरक्कोले प्रारम्भिक अग्रता लिएको थियो । खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले उत्कृष्ट गोल गरे ।
जवाफमा ब्रजिलले ३२ औँ मिनेटमा बराबरी गोल गर्यो । भिनिसियस जुनियरले बराबरी गोल दिलाएका हुन् । ब्रुनो गुइमाराएसको पासमा भिनिसियसले गोल गरेका हुन् ।
मध्यान्तरमा ब्रजिलले ५४ प्रतिशत र मोरक्कोले ४६ प्रतिशत बल नियन्त्रणमा लिएकामा मध्यान्तरपछि त्यो दर निकै प्रतिस्पर्धात्मक बन्दै ५२-४८ प्रतिशत भएको थियो ।
ब्रजिलले मध्यान्तरअघि नै दुई ओटा पहेँलो कार्ड पाएको थियो ।
गत संस्करण कतार विश्वकपमा ब्रजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध तब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्रजिल अन्तिम आठमै रोकिएको थियो । यसपालि ब्रजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ ।
उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दाहोर्याउने चुनौती छ । कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।
गत वर्ष ब्रजिलियन फुटबलको इतिहास फेरिएको थियो । जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भएजति सबै उपाधि जितेका छन् । अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्रजिल आएका छन् ।
विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्रजिलले ११४ मध्ये ७४ खेलमा विजयी हासिल गरेको छ । यसबीच ब्रजिलले पाँचपटक प्रतिष्ठित ट्रफी चुम्यो । यद्यपि २४ वर्ष भइसक्यो, ब्रजिलले विश्वकपको उपाधि जित्न सकेको छैन् ।
ब्रजिलले यसअघि पनि २४ वर्षको पखाईपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो । सन् १९७० मा ब्रजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो । त्यसपछि चौथोपटक च्याम्पियन हुन ब्रजिलले १९९४ सम्म कुर्नुपर्यो । त्यो पनि अमेरिकाको माटोमा । यसपाली त्यही संयोग जुरेको छ ।
विश्वकप इतिहासमा ब्रजिलले आठमध्ये सातपटक अफ्रिकन राष्ट्रलाई हराएको छ । ब्रजिलले एक मात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो । क्यामरुनले समूह चरण्मा ब्रजिललाई १–० ले हराएको थियो । मोरक्को ब्रजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ ।
चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो ।
सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपाली प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’का रुपमा हेरिएको छ । मोरक्कोले आफ्नो सुरुआती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो ।
मेक्सिको (१९७० र १९८६) अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो । मेडन अनुभवमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा गरेको थियो ।
अमेरिका १९९४ मोरक्कोका लागि विर्सनलायक रह्यो । टोलीले समूहका तीनवटै खेलमा एक गोलको अन्तरले पराजय बेहोर्यो ।
एट्लास लायन्सले पछिल्ला वर्षहरुमा आफूलाई शक्तिशाली फुटबल राष्ट्रका रुपमा उभ्याएको छ । सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित हासिल गर्दा १० बराबरी र दुईमा हार आत्मसात गरेको छ । अहिले त मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ । नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा पनि अगाडि ।
ब्रजिलसँगको पछिल्लो तीन भेटमध्ये एकमा मोरक्कोले जित हासिल गरेको छ । २०२३ मा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्रजिल २–१ ले स्तब्ध भएको थियो ।
ब्रजिलका उच्च गोलकर्ता नेइमार अझै पनि ‘काल्फ इन्जुरी’को समस्यासँग जुधिरहेका छन् । उनी आइतबारको खेलमा उपस्थित भएका छैनन् ।