जलवायु परिवर्तन र प्रजनन स्वास्थ्यबीच सम्बन्ध: बढ्दो निःसन्तानपनले देखायो गम्भीर संकेत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
189
Shares
काठमाडौँ । जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएको छ। पछिल्ला वैज्ञानिक अध्ययनहरूले यसको असर केवल प्रकृति र जीवजन्तुमा सीमित नरही मानव स्वास्थ्यको अत्यन्त संवेदनशील पक्ष प्रजनन स्वास्थ्यसम्म विस्तार भएको देखाएका छन्।
प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीषका अनुसार पछिल्लो समय विश्वभर निःसन्तानपनको दर निरन्तर बढ्दै गएको छ र यसको पछाडि जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलन प्रमुख कारणका रूपमा देखा पर्न थालेको छ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामध्ये करिब २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहेको विभिन्न अध्ययनले देखाएको बताइन्।
चीनमा गरिएको पछिल्लो अध्ययनले पनि निःसन्तानपनको समस्यामा करिब २० प्रतिशत भूमिका जलवायु परिवर्तनको रहेको निष्कर्ष निकालेको उनले उल्लेख गरिन्।
उनका अनुसार जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा समान रूपमा असर पारिरहेको छ। बढ्दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थको प्रभाव तथा प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले प्रजनन क्षमतामा नकारात्मक असर पुर्याइरहेको उनले बताइन्।
महिलामा महिनावारी अनियमित हुने, अण्डाणुको गुणस्तर कमजोर हुने तथा छिटो मेनोपज हुने समस्या देखिन थालेका छन् भने पुरुषमा शुक्राणुको संख्या र गुणस्तर घट्ने, गतिशीलता कम हुने तथा डीएनए क्षति हुने जोखिम बढिरहेको छ।
डा. श्रीषका अनुसार जलवायुजन्य विपद्-जस्तै बाढी, पहिरो र अत्यधिक गर्मीका समयमा स्वास्थ्य सेवामा समयमै पहुँच नपुग्दा पनि प्रजनन स्वास्थ्यमा जटिलता थपिने गरेको छ। साथै, बढ्दो तनाव, थकान र जीवनशैलीमा आएको परिवर्तनले यौन स्वास्थ्य र प्रजनन क्षमतामा थप असर पारिरहेको छ।
उनका भनाइमा, विश्व तथ्यांकअनुसार प्रत्येक ६ दम्पतीमध्ये १ दम्पती निःसन्तानपनको समस्याबाट प्रभावित हुने गरेका छन्। नेपालमा विस्तृत अध्ययन नभए पनि सोही अनुपातमा समस्या रहेको अनुमान गरिएको उनले बताइन्।
डा. श्रीषले निःसन्तानपनलाई केवल व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य (पब्लिक हेल्थ) को रूपमा लिनुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार अहिले विश्वभर यस विषयमा बहस भइरहेको छ, किनभने यसको प्रिभेलेन्स र इन्सिडेन्स दुवै बढ्दै गएका छन्।
उनले भनिन्, “निःसन्तानपनलाई खाली व्यक्तिको समस्या नभएर पब्लिक हेल्थको इस्यूको रूपमा लिनुपर्ने देखिइरहेको छ। यसको प्रिभेलेन्स बढ्दै गएको छ। जलवायु परिवर्तनले यसमा उल्लेख्य प्रभाव पारिरहेको छ। चीनमा भएको अध्ययनले करिब २० प्रतिशत केसमा जलवायु परिवर्तनको भूमिका देखाएको छ।”
उनका अनुसार जलवायु परिवर्तनको असर व्यवहारिक र शारीरिक दुवै रूपमा देखिन्छ। व्यवहारिक रूपमा तापक्रम वृद्धिसँगै मानिसमा आलस्य, थकान र तनाव बढ्ने, यौन इच्छाशक्ति घट्ने जस्ता समस्या देखिन्छन्, जसले प्रजनन क्षमतामा असर पार्छ।
शारीरिक रूपमा भने वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकजन्य वस्तुको प्रयोगले महिला र पुरुष दुवैको प्रजनन प्रणालीमा प्रत्यक्ष असर पारिरहेको छ। पुरुषमा शुक्राणु घट्ने र डीएनए क्षति हुने समस्या देखिँदा महिलामा अनियमित महिनावारी र छिटो मेनोपज हुने जोखिम बढेको उनले बताइन्।
विश्वभर भइरहेका अनुसन्धानहरूले पनि वातावरणीय असन्तुलन नै निःसन्तानपन बढाउने प्रमुख कारणमध्ये एक भएको देखाएको उनले उल्लेख गरिन्। उनका अनुसार केही अवस्थामा कारण नै नपत्ता लाग्ने समस्या समेत बढिरहेको छ। नेपालको सन्दर्भमा यसबारे पर्याप्त अध्ययन नभए पनि समस्या विश्वस्तरकै अनुपातमा रहेको अनुमान गरिएको छ।
लैंगिक समान प्रभाव र सामाजिक भ्रम
डा. श्रीषका अनुसार निःसन्तानपन महिला र पुरुष दुवैमा बराबर रूपमा देखिन्छ। तर नेपाली समाजमा अझै पनि यसलाई महिलाको मात्र समस्या भन्ने गलत धारणा रहेको उनले बताइन्।
उनले भनिन्, “हाम्रो समाजमा निःसन्तानपन महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य छ। तर विश्वव्यापी अध्ययनले महिला र पुरुष दुवैमा बराबर समस्या हुने देखाएको छ।”
उनका अनुसार पुरुषमा शुक्राणुको गुणस्तर घट्ने, उत्पादन कम हुने तथा गतिशीलतामा कमी आउने समस्या जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित देखिएको छ।
एकीकृत अध्ययन र नीतिगत आवश्यकताको जोड
डा. श्रीषले निःसन्तानपनलाई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा लिएर जलवायु परिवर्तनसँगको सम्बन्धमा एकीकृत अध्ययन गर्न सरकारलाई सुझाव दिएकी छन्।
उनका अनुसार जलवायु परिवर्तनलाई केवल वातावरण संरक्षण, वृक्षारोपण वा सरसफाइको विषयमा सीमित नगरी प्रजनन स्वास्थ्यसँग पनि जोडेर हेर्न आवश्यक छ।
उनले भनिन्, “स्वस्थ आमा, स्वस्थ बच्चा र स्वस्थ भविष्यका लागि जलवायु परिवर्तन र प्रजनन स्वास्थ्यबीचको सम्बन्धलाई गहिरो रूपमा अध्ययन गर्न आवश्यक छ।”
उनका अनुसार सरकारले सम्बन्धित निकायसँग समन्वय गरी नीति निर्माण, अनुसन्धान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ।
डा. श्रीषले अन्त्यमा पर्यावरणमैत्री जीवनशैली अपनाउन सके मात्र दीर्घकालीन रूपमा प्रजनन स्वास्थ्यमा पर्ने जोखिम कम गर्न सकिने बताएकी छन्।