arrow

नेपाल-पेरु मित्रताको ५० वर्ष: सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
nepal-peru-relations.jpg

काठमाडौँ । पेरु गणतन्त्रको २०५औँ स्वतन्त्रता दिवस तथा नेपाल-पेरु कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा दुई देशबीचको मित्रता र सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै राजदूत पाउलिनिचले नेपाल र पेरुबीचको पाँच दशक लामो कूटनीतिक सम्बन्ध आपसी सम्मान, मित्रता र विश्वासमा आधारित रहेको बताए।

हिमालय र एन्डिज पर्वत शृङ्खलाले दुवै मुलुकको जीवनशैली, संस्कृति र विकासका चुनौतीलाई समान रूपमा प्रभावित गरेको उल्लेख गर्दै उनले पर्वतीय राष्ट्रका रूपमा नेपाल र पेरुबीच विशेष सम्बन्ध रहेको धारणा राखे।

उनले पर्वतीय भूगोलले सिर्जना गरेका अवसर र चुनौतीहरूको सामना गर्न दुवै देशले हासिल गरेका अनुभव आदानप्रदान गर्न सक्ने उल्लेख गर्दै त्यसलाई भविष्यको सहकार्यको बलियो आधारका रूपमा व्याख्या गरे।

राजनीतिक संवाद, आर्थिक तथा व्यापारिक सम्बन्ध, शिक्षा, संस्कृति र जनस्तरको सम्पर्कलाई थप सुदृढ बनाउन पेरु प्रतिबद्ध रहेको उनले बताए।

राजदूत पाउलिनिचले उच्च पहाडी कृषि, जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पर्वतीय तथा ग्रामीण पर्यटन, नवीकरणीय ऊर्जा र दिगो विकासका क्षेत्रमा नेपाल-पेरु सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको औँल्याए।

कार्यक्रममा नेपाल सरकारका तर्फबाट पेरुको स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै दुई देशबीचको पाँच दशक पुरानो कूटनीतिक सम्बन्धलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको थियो।

पाँच दशकअघि स्थापित नेपाल-पेरु सम्बन्ध अहिले परम्परागत कूटनीतिमा मात्र सीमित नभई व्यापार, पर्यटन, जलवायु परिवर्तन, पर्वतीय विकास र दिगो आर्थिक सहकार्यका नयाँ क्षेत्रतर्फ उन्मुख हुँदै गएको सन्देश समारोहले दिएको छ।

समारोहमा भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र नेपालका लागि पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवाल ले संयुक्त रूपमा आतिथ्यता गरेका थिए।

कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, विभिन्न देशका कूटनीतिज्ञ, व्यवसायी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ