arrow

जातीय विभेदविरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
jatyata-bridhudda-andolan.jpg

काठमाडौँ। वक्ताहरूले दलित समुदायमाथि बढ्दो जातीय विभेद र अत्याचारविरुद्ध ६० लाख दलित एक भएर सशक्त रूपमा प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले देशभरका दलित समुदाय एकताबद्ध नभएसम्म विभेदविरुद्धको संघर्ष प्रभावकारी नहुने बताएका हुन्।

पूर्वराजदूत पदम सुन्दासले देशमा पछिल्लो समय जातीय विभेद र दलितमाथिको अत्याचार बढ्दै गएको भन्दै त्यसविरुद्ध देशभरका दलित समुदाय एकजुट हुन आह्वान गरे।

परियार सेवा समाजका अध्यक्ष बल बहादुर सुन्दासले ठूलो जनसंख्या भएको दलित समुदाय विभक्त हुँदा उनीहरूमाथि दमन बढिरहेको उल्लेख गर्दै एकताबद्ध प्रतिवाद आवश्यक रहेको बताए।

उनले भने, ‘परियार समाज मात्रै होइन, ६० लाख दलित एक भएर प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको छ।’

संविधानसभा सदस्य सुजाता परियारले लामो संघर्षपछि संविधानमा दलितका अधिकार लिपिबद्ध गरिए पनि ती अधिकार अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन्।

डा. मित्र परियारले पछिल्ला घटनाक्रमले दलित समुदायमाथि दमन बढेको देखिएको भन्दै त्यसको गम्भीर समीक्षा गरेर सशक्त आन्दोलनको तयारी गर्नुपर्ने बताए।

उनले केही महिनायता दलित युवाहरू विभिन्न घटनामा अन्यायमा परेको उल्लेख गर्दै समुदायभित्रको मौनता र विभाजनप्रति पनि आक्रोश व्यक्त गरे।

पूर्वसांसद लक्ष्मी परियारले दलित अधिकारका मुद्दा उठाउन समाज अझ सशक्त हुनुपर्ने बताइन्।

विसे नगर्चि एकताको प्रतिक नेपालका अध्यक्ष रामकुमार रणपालले विसे नगर्चिलाई सम्पूर्ण दलित समुदायको प्रेरक व्यक्तित्वका रूपमा स्थापित गर्न सालिक निर्माणलगायत कार्य जारी रहेको जानकारी दिए।

जेन-जी युनाइटेडका संयोजक जनक परियारले दलित युवामाथि दमन बढेको भन्दै एकताबद्ध संघर्ष आवश्यक रहेको बताए।

अधिवक्ता सितारमा घलेले संविधानले दलित अधिकार सुनिश्चित गरे पनि सामाजिक चेतनामा परिवर्तन नहुँदा विभेद कायम रहेको उल्लेख गरिन्।

कार्यक्रममा गोरखा, काठमाडौँ र बुटवलमा विसे नगर्चिसँग सम्बन्धित स्मृति स्थल तथा सालिक निर्माणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ