विद्रोहपछि छ महिनामै निर्वाचन सम्पन्न हुनु ऐतिहासिक उपलब्धि [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
244
Shares
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनलाई नेपालको राजनीतिक इतिहासमा विशेष रूपमा स्मरण गरिने घटना भएको बताएका छन् ।
विद्रोहपछिको जटिल राजनीतिक, सुरक्षा र प्रशासनिक परिस्थितिका बीच निर्धारित समयमै निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण सफलता भएको उनको भनाइ छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भण्डारीले विद्रोहपछि केवल छ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सफल हुनु सामान्य उपलब्धि नभएको उल्लेख गरे ।
उनले नेपालको निर्वाचन प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले समेत चासोपूर्वक अध्ययन र विश्लेषण गरिरहेको दाबी गर्दै यसले संक्रमणकालीन अवस्थाबाट समेत समयमै निर्वाचन सम्भव हुने सन्देश दिएको बताए ।
उनका अनुसार निर्वाचनअघि विभिन्न तहमा संशय, निषेधको राजनीति, सुरक्षा चुनौती तथा निर्वाचनको वातावरण निर्माणसम्बन्धी जटिल अवस्था विद्यमान थियो ।
तर निर्वाचन आयोगले संविधान र कानुनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखेर सबै राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवाला पक्षसँग निरन्तर संवाद तथा समन्वय गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको हो ।
भण्डारीले निर्वाचन आयोगले सीमित स्रोत-साधनको अधिकतम उपयोग गर्दै निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र मितव्ययी ढंगले सञ्चालन गरेको पनि दाबी गरे ।
उनले निर्वाचन व्यवस्थापनका क्रममा पारदर्शिता, विश्वसनीयता र जनसहभागितालाई प्राथमिकतामा राखिएको बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइले आयोगले पछिल्लो निर्वाचनलाई केवल संवैधानिक दायित्व पूरा गर्ने प्रक्रियाका रूपमा नभई राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण परीक्षणका रूपमा लिएको संकेत गरेको छ ।
उनले विद्रोहपछि छोटो अवधिमै निर्वाचन सम्पन्न भएको अनुभवले भविष्यमा पनि संकटका बीच लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिन सकिने विश्वास बढाएको बताए ।
आयोगका अनुसार उक्त निर्वाचनले नेपालको लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउने आधार तयार गरेको छ ।