काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साङ्गठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आफ्नो जिम्मेवारी वहन गर्न प्रहरी अधिकृतहरूलाई कडा निर्देशन दिएका छन्। हालै सरुवा भई आ–आफ्नो नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।
महानिरीक्षक कार्कीले बदलिँदो परिवेश अनुसार प्रविधिको उच्च प्रयोगलाई प्राथमिकतामा राख्न आग्रह गरे। उनले पारदर्शी, समयसापेक्ष एवं नागरिकमैत्री सेवाभावका साथ काम गर्दै नतिजामुखी कार्यसम्पादनमा जोड दिनुपर्ने बताए। आफूलाई प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्न समेत उनले सरुवा भएका अधिकृतहरूलाई सचेत गराए।
उक्त निर्देशन कार्यक्रममा प्रहरीका अन्य उच्च अधिकृतहरूले पनि कार्यक्षेत्रमा इमानदार रहन आग्रह गरे। मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले आ–आफ्नो पदीय जिम्मेवारीलाई देश र नागरिकको हितमा इमानदारीपूर्वक निर्वाह गर्न अनुरोध गरे।