नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
192
Shares
काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् ।
नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल-भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए।
“यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ”, उनले भने ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्कर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सम्झना देवकोटाले नेपाल-भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिइन् । रासस