काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले दफावार छलफल गरी उक्त कार्यविधि पारित गरेको हो।
समितिकी सभापति समीक्षा बास्कोटाले माननीय सदस्यहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई समेत मस्यौदामा समावेश गरेर 'कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि, २०८३' सर्वसम्मतिले पारित गरिएको घोषणा गरिन्। यो कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थाहरूलाई समेत समेटिएको उनले जानकारी दिइन्।
कार्यविधि पारित गर्दै सभापति बास्कोटाले भनिन्, "यो कार्यविधि हामीले यथेष्ट छलफल गरेर पारित गरेका छौँ। यसले समितिको कामकारबाहीलाई थप व्यवस्थित बनाउनेछ।"
बैठकमा उपस्थित सांसदहरूले कार्यविधिमाथि छलफल गर्नुका साथै राष्ट्रिय महत्त्वका विभिन्न विषयमा आवाज उठाएका थिए। बैठकमा बोल्ने अधिकांश सांसदहरूले विभिन्न संवैधानिक आयोगहरूले बुझाएका प्रतिवेदनहरू पूर्ण रूपमा कार्यान्वयन गराउनका लागि समितिले सरकारलाई आवश्यक दबाब दिनुपर्नेमा विशेष जोड दिएका थिए।