काठमाडौँ । व्यवस्थापिका संसद् अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ। आज कानून, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।
बिहान ९ बजेका लागि बोलाइएको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र आन्तरिक कार्यविधि सम्बन्धमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
यसै गरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने बिहान ११ बजे बस्ने तय भएको छ। उक्त बैठकमा नयाँ उपसमिति गठन गर्ने, समितिको आन्तरिक कार्यविधि पारित गर्ने तथा अन्य विविध प्रासङ्गिक विषयहरूमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।