arrow

महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवान र उनका मामा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
mahakali-nadi-badh.jpg
फाइल तस्बिर

डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिका-५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुनमगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव सोमबार परशुराम नगरपालिका-५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो।

यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुनमगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ।

मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि उनीहरूले प्रयोग गरेको ट्युब महाकाली नदी किनारमा फेला परेको थियो।

त्यसपछि उनीहरू नदीमा बगेको आशंकामा खोजी अभियान सञ्चालन गरिएको थियो।

खोजीका क्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पुनमगरको शव भने नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ