हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गर्ने सरकारको योजना छ : अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
658
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले काठमाडौँमा ‘सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट फ्याक्ट्री’ स्थापना गर्ने तयारी गरेको बताएका छन्। यस परियोजनामार्फत हजारौँ एआई प्रोसेसिङ युनिटहरू खरिद गरी नेपाली युवा उद्यमी तथा प्रविधि क्षेत्रलाई अत्याधुनिक कम्प्युटिङ क्षमता उपलब्ध गराउने सरकारको योजना छ।
बजेट प्रस्तुत गरेपछि अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एआई क्षेत्रमा नेपालले ठूलो छलाङ मार्ने आधार तयार भइरहेको दाबी गरे।
सरकारले विश्वका विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थानमा कार्यरत नेपाली मूलका अग्रणी एआई शोधकर्ता तथा प्राध्यापकहरूलाई नेपाल ल्याएर फेलोसिपमार्फत अनुसन्धान र नवप्रवर्तनमा संलग्न गराउने योजना अघि बढाएको छ। एआई क्षेत्रमा कार्यरत नेपाली मूलका विज्ञ तथा न्युयोर्कको नास्डाकमा सूचीकृत कम्पनीलगायतको योगदानले यस परियोजनालाई गति दिएको अर्थमन्त्री वाग्लेले बताए।
नेपालका डिजिटल तथा फिनटेक समुदायमा एआई पूर्वाधार निर्माणप्रति उत्साह देखिएकाले सरकारले यस क्षेत्रमा उदारतापूर्वक लगानी गर्ने नीति लिएको उनको भनाइ छ। यस योजनामार्फत दीर्घकालीन रूपमा निजी क्षेत्रबाट ठुलो लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ।
नेपालमा उपलब्ध स्वच्छ ऊर्जालाई एआई कम्प्युटिङसँग जोड्न सके विद्युत् निर्यातभन्दा पनि उच्च मूल्य सिर्जना गर्न सकिने अर्थमन्त्री वाग्लेले उल्लेख गरे। भारतमा तारमार्फत विद्युत् निर्यात गर्ने वा बङ्गलादेशलाई बिजुली बेच्नेभन्दा स्वदेशी स्वच्छ ऊर्जालाई एआई कम्प्युटिङमा खपत गराउन सकियो भने नेपालले धेरै ठूलो आर्थिक छलाङ मार्न सक्ने उनको भनाइ छ। आगामी बजेटमा यस्ता धेरै रूपान्तरणकारी कार्यक्रमहरू समावेश गरिएकाले यसले डिजिटल अर्थतन्त्र र प्रविधि क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
“यो एआईमा ठ्याक्कै के हो भन्दा जिल्ला तोकेर, मैले भन्दिएको छु, सोभरेन एआई कम्प्युट फ्याक्ट्री बन्दै छ । हामी सुरुमै हजारौँ प्रोसेसिङ युनिटहरू, एआई प्रोसेसिङ युनिटहरू खरिद गर्दै छौँ । त्यसले दसौँ हजार युवा उद्यमीहरूलाई कम्प्युट पावर, एआईको कम्प्युट पावरसँग पहुँच दिँदै छ र यसमा हामीले छलाङ नै मार्दैछौँ । यसमा पनि पत्रकारहरू ३ प्रतिशतमा भुलेर होला या हुनाले त्यति यथेष्ट यता कभर गर्न पाउनुभएको छैन ।”