बजेट आकारमा ठुलो देखिए पनि जीडीपीको अनुपातमा सानो छ: अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
476
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठुलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा भने सानो रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको स्पष्ट पारे। जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी यथार्थपरक बजेट ल्याइएको उनको दाबी छ।
वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्याङ्कन गरिने समेत जानकारी दिए। बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको उनले बताए।
“जीडीपी प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा २८।५ प्रतिशतको बजेट आएको छ । हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब छ । अब त्यो अलिकति तल पनि हुन सक्छ, त्यो पछिको कुरा भयो । मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला । तर आजका मितिमा यो चाहिँ ३० प्रतिशतभन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो २५ देखि, राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।”
अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई २५ देखि ३० प्रतिशतको दायराभित्र राख्दै यसलाई बढी व्यावहारिक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको छ ।