सबै आयोगका प्रतिवेदनहरूको एकमुष्ट अध्ययन गरी आवश्यक कारबाही गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
559
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अर्जुननरसिंह केसीले गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
प्रधानमन्त्री साहले मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई भदौ २३ र २४ का घटनासँग सम्बन्धित प्रतिवेदन तथा विभिन्न कालखण्डमा गठन गरिएका सबै आयोगका प्रतिवेदनहरूलाई सरकारले अध्ययनको दायरामा ल्याउने स्पष्ट पारे। उनका अनुसार विभिन्न समयमा भएका आन्दोलन, र्याली र दमनका घटनाबारे धेरै प्रतिवेदनहरू तयार भएका छन्। हालसम्म नेपाल सरकारलाई बुझाइएका ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरी त्यसको निष्कर्ष र सिफारिसका आधारमा आवश्यक कानुनी एवं प्रशासनिक कामकारबाही अघि बढाइने उनको भनाइ छ।
प्रधानमन्त्री साहले संसद्मा राखेको भनाइ, “मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर, भदौ २३ र २४ को मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलन भएका छन्, धेरै दमनहरु पनि भएका छन् । विभिन्न कालखण्डमा भएका आन्दोलनहरु, र्यालीहरुमा भएको कुराहरुको प्रतिवेदन धेरै छन्, एउटा मात्रै प्रतिवेदन छैन, मानवअधिकार आयोगको र विभिन्न आयोगहरु पनि गठन भएका छन्, विभिन्न खालखण्डमा । आजसम्म भएका र नेपाल सरकारमा बुझाईएको जतिपनि आयोगका प्रतिवेदनहरु छन्, ती सबै प्रतिवेदनहरुलाई एकमुष्ठ रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारवाही त्यहीअनुसार गर्छ।”
यसअघि बैठकमा सांसद केसीले विशेष गरी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीसँग जोडदार माग गरेका थिए।