गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको छ: राष्ट्रपति पौडेल
'निमुखालाई न्याय र विपन्नलाई आय' नै मुख्य दर्शन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
565
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको उल्लेख गरे। नेपालको संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यताहरूलाई आत्मसात् गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको जग बसालेको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान् उपलब्धिको रूपमा व्याख्या गर्दै वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकारलाई गाउँगाउँसम्म पुर्याएको दाबी गरे। नागरिकका गुनासोहरू शासकीय संरचनाबाटै सम्बोधन हुने उन्नत लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जगलाई थप मजबुत बनाएको उनले उल्लेख गरे।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्नु रहेको राष्ट्रपति पौडेलको तर्क छ। नागरिकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रताको रक्षा गर्दै उनीहरूको जीवनस्तर उकास्नु नै यस व्यवस्थाको मुख्य दर्शन भएको उनले स्पष्ट पारे।
विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबैलाई थाहा छ लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैँले बनाएको संविधानमार्फत यसलाई हामीले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ। यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ र राज्यसत्ता एवं शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानिएको छ। हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेख गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ।’
उनले थपे, ‘यही अभ्यासले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्याएको छ र स्थानीय तथा प्रदेश सरकारहरूले संविधानबमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन्। यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ। अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो।’