arrow

सगरमाथा आरोहण दिवस

हिमाल संरक्षणमा सरोकारवालाको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
everest-sagarmatha-2025t.jpg

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ। 

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन यो दिवस मनाउने गरिन्छ।

सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभएर राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। नेपाल र चीनले सन् २०२१ मा संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको वर्तमान उचाइ ८ हजार ८४८ दशमलव ८६ मिटर रहेको छ।

यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी सङ्घसंस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

यसै गरी, नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउनका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको जनाएको छ।

पर्यटन विभागका अनुसार हालसम्म आठ हजारभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा हिमाल नेपालमै अवस्थित छन्।

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार मानिन्छ। प्रत्येक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक तथा पर्वतारोहीहरू नेपाल आउने गरेका छन् र सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ