arrow

दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली जलविद्युतको वेयर गेट उद्घाटन 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
park-83-2-14.jpg

रसुवा । माथिल्लो त्रिशुली-१ (यूटी-१) २१६ मेगावाटको जलविद्युत आयोजनाको पानी वहाव नियन्त्रण गर्ने वेयर गेट (ड्यामको गेट) उद्घाटन भएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले बिहीबार रसुवा जिल्लामा आयोजित कार्यक्रममा उपस्थित भई उक्त वेयर गेटको उद्घाटन गरेका हुन् । 

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासका अनुसार नवीन प्रविधि समावेश भएको वेयर गेटको आधिकारिक रुपमा उद्घाटन सफल रूपमा सम्पन्न हुनाले माथिल्लो त्रिशुली-१ (यूटी-१) जलविद्युत परियोजना निर्माण अन्तिम चरणको एक महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।
 
मन्तव्यका क्रममा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको धारणा राखे । 

उनले कोरियाका तर्फबाट नेपालमा तीन ओटा जलविद्युत आयोजनाको निर्माण र आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै जलविद्युत प्रवद्र्धन क्षेत्रमा कोरियाको योगदानको बारेमा खुलाए। उनले ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यका प्रचुर सम्भावना रहेको उल्लेख गरे।

राजदूत पार्कले ड्यामको गेट सफल रुपमा स्थापना गर्न भूमिका खेल्ने परियोजनामा संलग्न सबै सरोकारवालाको सहकार्य र समर्पणलाई प्रतिबिम्बित गरेको उल्लेख गरे। उनले (यूटी-१) परियोजनालाई नेपाल र कोरिया बीचको दीर्घकालीन ऊर्जा क्षेत्रमा भएको लगानीलाई एक ऐतिहासिक उदाहरणको रूपमा वर्णन गरे।

माथिल्लो त्रिशूली-१ जलविद्युत परियोजना नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड (एनडब्ल्यूईडीसी) द्वारा निर्माणाधीन आयोजना हो। यस आयोजनाको  प्रमुख प्रायोजकहरू कोरिया साउथ इस्ट पावर कम्पनी(केओईएन) र कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट कर्पोरेशन (केआईएन्डी) गरी दुई कोरियाली कम्पनीहरू रहेका छन् ।

यस आयोजना नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको र नदीको बहावमा आधारित परियोजना २०२७ को मध्यसम्ममा सम्पन्न हुने तालिका रहेको छ।

नेपाल जल तथा ऊर्जा विकास कम्पनी (एनडब्ल्यूईडीसी) द्वारा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको जलविद्युत परियोजना भएकोले नेपालको लागि प्रत्यक्ष वैदेशिक लगानीको सन्दर्भमा ऐतिहासिक उपलब्धि पनि हो। 

यस नदी बहाव परियोजना २०२७को मध्यसम्ममा सम्पन्न गर्ने तालिका रहेको छ। 

यो परियोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीको मिश्रिात लगानी भएको परियोजना हो। आयोजनामा ऋण प्रदान गर्ने प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) एसियाली विकास बैंक (एडीबी) एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंक (के-ईएक्सआईएम) समावेश रहेका छन् ।

उद्घाटन समारोहमा उर्जा मन्त्रालयका अधिकारीहरू, कोरियाली दूतावासका कर्मचारीहरु, परियोजना सरोकारवालाहरू, मिडिया कर्मचारीहरू र स्थानीय बासिन्दाहरूसहित लगभग २५० जनाको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ