arrow

विदेश होइन गाउँमै सम्भावना : मौरीपालक किसानको अनुभूति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
maha-honey-14-02.jpg

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका-६ लिउडी गाउँका ४५ वर्षीय रुपबहादुर सेजुवाल ले पुर्ख्यौली पेशाका रूपमा रहेको मौरी पालनलाई व्यावसायिक बनाउँदै वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन्।

उनले बुबाबाजेले परम्परागत रूपमा गर्दै आएको मौरी पालनलाई निरन्तरता दिँदै पछिल्लो समय सुधारिएको घार प्रयोगमार्फत व्यवसाय विस्तार गरेका हुन्। सरकारी निकायबाट प्राविधिक ज्ञान र आर्थिक सहयोग पाएपछि उनी यस पेशाप्रति थप उत्साहित बनेका छन्।

सेजुवाल बिहानदेखि बेलुकासम्म मौरी घारको हेरचाहमा व्यस्त रहने गर्छन्। मौरीलाई दाना दिने, घारको सुरक्षा गर्ने तथा उत्पादन व्यवस्थापन गर्ने काममा उनी दैनिक खटिने गरेका छन्।

उनका अनुसार विगतमा करिब ७० ओटा परम्परागत घारमार्फत मौरी पालन गर्दै आए पनि कुनै आर्थिक वा प्राविधिक सहयोग उपलब्ध भएको थिएन। पुर्खाबाट सिकेको सीपकै भरमा व्यवसाय सञ्चालन गर्दै आएका उनले अहिले भने आधुनिक प्रविधि अपनाउन थालेका छन्।

महको बजार विस्तार हुँदै गएपछि अन्य पेशाभन्दा मौरी पालनबाट राम्रो आम्दानी हुन थालेको सेजुवाल बताउँछन्। मौरी पालनबाट वार्षिक करिब तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए।

उनका अनुसार जिल्ला कृषि विकास कार्यालय मुगुको २ लाख ५० हजार रुपैयाँ अनुदान र आफ्नै २ लाख ५० हजार रुपैयाँ लगानी गरी पाँच लाख रुपैयाँको लागतमा सुधारिएको मौरी घार निर्माण गरिएको हो। हाल ती सुधारिएका घारमा १० भन्दा बढी मौरी समूह प्रवेश गरिसकेका छन्।

सेजुवालले विदेशिनुभन्दा आफ्नै गाउँमा मेहनत गरेर राम्रो आम्दानी गर्न सकिने अनुभव भएको बताए। सरकारले मौरीपालक कृषकका लागि मौरी बीमा कार्यक्रम सञ्चालन गरेपछि थप राहत मिलेको उनको भनाइ छ।

वि.सं. २०४२ सालदेखि मौरी पालन गर्दै आएका उनले यही पेशाबाट घरखर्च, बालबच्चाको पढाइलगायत पारिवारिक दायित्व पूरा गर्दै आएको बताए।

हिमाली जिल्ला मुगुमा मौरी पालनको राम्रो सम्भावना रहेको स्थानीय कृषकहरूको भनाइ छ। धेरै मेहनत नचाहिने र आम्दानी पनि राम्रो हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भइरहेका छन्।

स्थानीय कृषक लालबहादुर रावल ले मौरी पालनका लागि आवश्यक औजार तथा उपकरण सहज रूपमा उपलब्ध नभएको गुनासो गरे।

जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारी ले कार्यालयले प्रत्येक वर्ष मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनका अनुसार मुगु जिल्लाबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढीको मह उत्पादन तथा कारोबार हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ