ललितपुर महानगरले शिक्षा, स्वास्थ्य र रोजगारीमा बजेट बढाउने [भिडियो]
चार महिनाभित्र स्मार्ट लाइट जडान गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
558
Shares
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन्।
पूर्वाधार तथा सम्पदाको विकास र निर्माणका कामहरू लगभग सकिएकाले अब महानगरपालिकाले यी मानवीय विकासका क्षेत्रहरूमा लगानी बढाउने उनको भनाइ थियो।
बिहीबार ललितपुरमा आयोजित अङ्गदान सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरपालिकामा पछि गाभिएका खोकना, हरिसिद्धी, बुङमती र धापाखेलका वडाहरूमा मात्र पूर्वाधार विकासका केही कामहरू बाँकी रहेको स्पष्ट पारे।
अरू क्षेत्रमा विकास भइसकेकाले अब पूर्वाधारका लागि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको उनले बताए।
पाटन दरबार स्क्वायरमा रहेका मठमन्दिर, शिवालय, देवालय लगायतका सम्पूर्ण सम्पदाहरूको पुनर्निर्माण र निर्माण कार्य लगभग सकिएकाले अब सम्पदाको क्षेत्रमा खासै बजेट छुट्याउनु नपर्ने मेयर महर्जनले जानकारी दिए
। विगतदेखि नै स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्दै आएको स्मरण गराउँदै उनले अबको मुख्य ध्यान शिक्षा, स्वास्थ्य र रोजगारी (इम्प्लोइमेन्ट) मै केन्द्रित हुने प्रस्ट पारे।
यसका साथै, मेयर महर्जनले ललितपुर महानगरभित्रको चक्रपथ (चलपथ) क्षेत्रमा आगामी ४ महिनाभित्र स्मार्ट लाइट जडान गर्ने काम पूर्ण रूपमा सम्पन्न हुने घोषणासमेत गरे।