राष्ट्रिय सभाबाट मतदाता नामावली प्रस्ताव सर्वसम्मत स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
661
Shares
काठमाडौँ । राष्ट्रिय सभाबाट ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको छ।
सभाको बुधबार बसेको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेकी थिइन्।
विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कानूनमन्त्री गौतमले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ को (ख) मा भएको व्यवस्था संशोधनका लागि तत्कालीन सरकारले अध्यादेश जारी गरेको जानकारी गराइन्। सोही कानूनी व्यवस्थालाई नियमित गर्नका लागि अहिले यो विधेयक अघि सारिएको उनले स्पष्ट पारिन्।