अर्थमन्त्री वाग्लेले गरे संसद्मा आर्थिक सर्वेक्षण पेस, यी हुन् मुख्य सूचकहरू [भिडियो]
अर्थतन्त्रको आकार ६६ खर्ब, विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
786
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए।
आर्थिक वृद्धि र अर्थतन्त्रको आकार
विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ, जसलाई सकारात्मक मानिएको छ। यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा वागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्यून रहने देखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर-कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ। आर्थिक गतिविधिमा वागमती प्रदेशको दबदबा कायम छ, जसले कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याएको छ। यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले सङ्कुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ।
राजस्व, खर्च र सार्वजनिक ऋण
चालू आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय राजस्व ३।२ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च (विकास खर्च) मा भने उल्लेख्य सुधार हुन सकेको छैन। सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३।६ प्रतिशत हो। यसै वर्ष सरकारले ३ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ।
मजबुत बाह्य क्षेत्र र व्यापार घाटाको चुनौती
आर्थिक सर्वेक्षणअनुसार देशको बाह्य क्षेत्र निकै बलियो देखिएको छ। विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७।७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। यस्तै, विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुग्नु अर्थतन्त्रका लागि अझै पनि चुनौतीकै रूपमा रहेको छ।
डिजिटल भुक्तानी र क्रेडिट रेटिङ
प्रविधिमैत्री भुक्तानीमा मुलुकले उल्लेख्य प्रगति गरेको छ। फागुन महिनासम्म क्युआर कोडमार्फत हुने कारोबार मात्रै १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ। यसै गरी, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ’बीबी-’ स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको सङ्केत गर्दछ। उपभोक्ता मूल्य मुद्रास्फीति (महँगी) भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत मात्र छ।
मानव विकास र सामाजिक क्षेत्रमा प्रगति
मानव विकासका सूचकहरूमा समेत नेपालले सन्तोषजनक प्रगति हासिल गरेको छ। नेपालको मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ। स्वास्थ्य क्षेत्रतर्फ मातृ मृत्युदर प्रतिलाख १५१ मा र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ। शिक्षा क्षेत्रमा आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता क्रमशः बढ्दो क्रममा रहेको सर्वेक्षणमा उल्लेख छ।