काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका–१ सितलपुर टोल नजिक नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले मङ्गलवार दिउँसो करिब ३:१० बजे गस्ती गर्ने क्रममा बाटोको छेउमा ती पुरुषलाई मृत अवस्थामा फेला पारेको हो। मृतकको उमेर अन्दाजी ४५ देखि ५० वर्ष रहेको प्रहरीले जनाएको छ।
मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन। तर उनको हातमा लगाएको बालामा ‘जगन राउत’ लेखिएको फेला परेको छ भने खल्तीबाट भारतीय १० रुपैयाँको नोट र २ रुपैयाँको सिक्का बरामद भएको छ।
घटनापछि प्रहरीले घटनास्थललाई सुरक्षित राखेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईको कमाण्डमा सोको टोलीसहित थप प्रहरी परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी मङ्गलबार साँझ ५:५० बजे शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।