प्रकृति कि मानवीय त्रुटि ? इलाममा मेची राजमार्ग भासिनुको रहस्य अझै अनुत्तरित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
553
Shares
काठमाडौँ । पूर्वी पहाडको लाइफलाइन मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन । स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ। वर्षौंदेखि विस्तार हुँदै गएको यो गम्भीर समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ।
स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो। सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का खाल्डो मात्र देखिएको सडक अहिले भने ठाउँ–ठाउँमा गहिरो गरी भासिएको छ। हिउँदमा जसोतसो सवारी गुड्ने गरे पनि वर्षायाम सुरु भएपछि यो खण्ड भयावह बन्ने गरेको छ। स्थानीय राजेन्द्र चौहानका अनुसार पहिले यहाँ यस्तो समस्या कहिल्यै थिएन र भूकम्पपछि जमिन भित्रभित्रै कमजोर बन्दै गएको आभास हुन्छ, जसका कारण अहिले कतिपय ठाउँमा पैदल हिँड्न पनि डर लाग्ने भइसकेको छ।
सडक भासिनुको मुख्य कारणबारे स्थानीय स्तरमा सबैभन्दा बढी प्रश्न तत्कालीन पुवाखोला जलविद्युत आयोजना र हालको पुवाखोला जलविद्युत केन्द्रको सुरुङ माथि उठिरहेको छ। पुवाखोलाको पानी माईखोलातर्फ मोडेर करिब ३ किलोमिटर सुरुङ मार्फत पानी ल्याएर उत्पादन गरिएको ६.२ मेगावाट क्षमताको यो आयोजना २०५७ सालदेखि सञ्चालनमा छ।
सुरुङ बनेपछि जमिनभित्रको पानीको प्राकृतिक बहाव परिवर्तन भएको र आयोजनाको हेडट्याङ्क मुनिको भू–भाग तथा खेतबारी वरिपरि पानीका नयाँ मुहानहरू उम्रिन थालेको स्थानीयको दाबी छ। सुरुङबाट पानी ‘सिपेज’ (चुहावट) भएकै कारण जमिन कमजोर भएको स्थानीयले अनुमान गरे पनि यस दाबीलाई प्राविधिक रूपमा पुष्टि गर्ने कुनै आधिकारिक वा वैज्ञानिक अध्ययन भने हालसम्म हुन सकेको छैन।
बढ्दो नागरिक दबाब र विवादका बिच जिल्ला प्रशासन कार्यालय इलामको अगुवाइमा सडक डिभिजन कार्यालय इलाम, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सञ्चारकर्मी र पुवाखोला जलविद्युत केन्द्रको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा जलविद्युतको सुरुङभित्र केही स्थानबाट सामान्य रूपमा पानी चुहिएको (सिपेज) अवस्था फेला परे पनि यो चुहावट नै सडक भासिनुको मुख्य र एकमात्र कारण हो भनिहाल्ने अवस्था नरहेको अनुगमनमा सहभागी भएकाहरूको भनाइ छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार हेडट्याङ्कदेखि करिब २५० मिटर क्षेत्रभित्र सुरुङ मर्मत गर्नुपर्ने आवश्यकता देखिए पनि सडक भासिनुमा यसको प्रत्यक्ष भूमिका कति छ भन्ने कुरा विस्तृत प्राविधिक अध्ययनबिना पुष्टि गर्न सकिँदैन। त्यस्तै, पुवाखोला जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुसालले भू–गर्भीय समस्या जटिल हुने भएकाले तत्कालै कसैलाई दोष दिन नमिल्ने बताए। सुरुङमा केही प्राविधिक मर्मत गर्नुपर्ने देखिए पनि यसैका कारण राजमार्ग प्रभावित भएको हो भन्न वैज्ञानिक आधार चाहिने भएकाले माथिल्लो निकायसँग समन्वय गरेर छिट्टै विज्ञ टोली ल्याउने तयारी भइरहेको उनले स्पष्ट पारे।
जानकारहरूका अनुसार पहाडी भेगमा सडक भासिनुमा कुनै एउटा मात्र कारक जिम्मेवार हुँदैन। यसमा भौगोलिक तथा भूगर्भीय संवेदनशीलता (कमजोर माटो र ढुङ्गाको बनावट), २०७२ सालको भूकम्पको पराकम्पनको असर, भूमिगत पानीको बहावमा आएको परिवर्तन र मानव निर्मित संरचना (सडक निर्माण र सुरुङ) को सामूहिक प्रभाव हुन सक्छ। माईखोला राजदुवाली देखि भञ्ज्याङ सम्मको क्षेत्रको माटो पानीसँग छिट्टै प्रतिक्रिया गर्ने प्रकृतिको भएकाले यहाँ सानो आन्तरिक परिवर्तनले पनि सतहमा ठूलो असर देखाउने प्राविधिकहरूको भनाइ छ।
दैनिक सयौँको सङ्ख्यामा सवारी साधन गुड्ने मेची राजमार्गको यो खण्डमा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भय यात्रु र चालकहरूमा छ। स्थानीयले यहाँ समस्या के हो भनेर वर्षौंदेखि बहस र भाषण मात्र भइरहेको तर आफूहरूलाई तत्कालको जोखिमबाट मुक्ति र ठोस समाधान कहिले मिल्छ भन्दै गुणासो गरिरहेका छन्।
अहिलेसम्मको अवस्थालाई हेर्दा सामान्य टालटुल वा मर्मतले मात्र यो सडक टिकाइराख्न सम्भव देखिँदैन। प्रकृति, प्रविधि वा मानवीय त्रुटि—कारण जे भए पनि राज्यका जिम्मेवार निकायले समयमै सही निष्कर्ष र प्रभावकारी कदम नचाले मेची राजमार्गको यो खण्ड भविष्यमा पूर्ण रूपमा अवरुद्ध भई पूर्वी पहाडकै अर्थतन्त्र र जनजीवन ठप्प हुने निश्चित छ। त्यसैले नागरिकको नजर अब हुने भनिएको उच्चस्तरीय प्राविधिक अध्ययन र त्यसको प्रतिवेदनतर्फ सोझिएको छ।