काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोसी नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा उनीहरूको ज्यान गएको हो।
मृत्यु हुनेहरूमा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विक रहेका छन्। मृतक दुवै बालक रातामाटास्थित प्रगतिशील माध्यमिक विद्यालयमा अध्ययनरत थिए। आज अत्यधिक गर्मी भएको र विद्यालय समेत बिदा रहेका कारण उनीहरू पौडी खेल्न नदीमा गएको अनुमान गरिएको छ।
बालकहरू नदीमा बेपत्ता भएको खबर पाउनासाथ स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी रातामाटा, सशस्त्र प्रहरी बल नेपालको खुर्कोटस्थित गोताखोर टोली तथा स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजतलास सुरु गरेका थिए। खोजीकै क्रममा सुनकोसी नदीबाट दुवै बालकको शव फेला पारिएको प्रहरीले जनाएको छ।