इरान-अमेरिका सम्झौता आजै सार्वजनिक हुन सक्ने, सम्झौताको अमेरिकाभित्रै आलोचना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
1.8k
Shares
काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन् । आफ्नो पहिलो भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे ।
उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्मुज जलमार्ग सम्बन्धी चिन्तालाई सम्बोधन गर्ने विदेशमन्त्री रुबियोको भनाइ छ । इरान, अमेरिका र इजरायलबीच बढेको तनावका कारण यो जलसन्धि केही हदसम्म अवरुद्ध भएको अवस्थामा छ । रुबियोका अनुसार प्रस्तावित सम्झौताले यस्तो प्रक्रिया सुरु गर्न सक्छ, जसले अन्ततः इरानको आणविक हतियारसम्बन्धी डरलाई सधैँका लागि हटाउने अवस्थातर्फ लैजानेछ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग खोल्ने विषयमा भइरहेको छलफल ‘धेरै हदसम्म अघि बढेको’ बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका, इरान र अन्य सम्बन्धित देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया निकै नजिक पुगेको दाबी गरेका हुन् ।
अमेरिकी अनलाइन एक्सियसका अनुसार अमेरिका र इरानबिच ६० दिनका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुने तयारी छ, जसको अवधि आपसी सहमतिमा थप्न सकिनेछ । यो अवधिभर हर्मुज जलमार्ग निःशुल्क खुला रहनेछ भने इरानले त्यहाँ बिछ्याएका सामुद्रिक बमहरू हटाउनुपर्नेछ ।
इरानले जति चाँडो बम हटाएर जहाज आवतजावत सुरु गराउँछ, अमेरिकाले उति नै चाँडो इरानी बन्दरगाहको नाकाबन्दी हटाउने र तेल बिक्रीमा छुट दिने सर्त राखिएको छ । इरानले रोक्का रकम र प्रतिबन्ध तत्काल फुकुवा चाहे पनि ट्रम्पको नीति अनुसार ठोस काम पूरा भएपछि मात्र राहत दिइनेछ ।
मस्यौदामा इरानले आणविक हतियार नबनाउने, युरेनियम प्रशोधन स्थगित गर्ने र भण्डार हटाउने विषयमा वार्ता गर्ने प्रतिबद्धता जनाएको छ भने प्रशोधन रोक्न आफू लचिलो रहेको मौखिक आश्वासन समेत दिएको छ । प्रतिबन्ध र रोक्का रकम फुकुवा सम्बन्धी विषयहरू प्रमाणित हुने गरी अन्तिम सम्झौता लागू भएपछि मात्र कार्यान्वयनमा आउनेछन् ।
मध्यपूर्वमा परिचालित अमेरिकी सैनिक र सैन्य उपकरण ६० दिनसम्म सोही क्षेत्रमा यथावत् रहनेछन् । यस समझदारीले लेबननमा इजराइल र हिजबुल्लाहबिचको युद्ध समाप्त गर्ने स्पष्ट पारेको छ, जसमा इजराइली प्रधानमन्त्री नेतान्याहूले चिन्ता व्यक्त गरे पनि ट्रम्पले उनलाई मनाएका छन् । युद्ध सकिए पनि हिजबुल्लाहले पुनः हतियार जम्मा गरे वा आक्रमणको प्रयास गरेमा इजराइलले आवश्यक कदम चाल्न पाउने अधिकार रहनेछ ।
यो सम्भावित सम्झौताले अमेरिकाभित्रै पनि तीव्र राजनीतिक बहस सिर्जना गरेको छ । इजरायलका कट्टर समर्थक मानिने ट्रम्पका निकट सहयोगीहरू सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओले यस सम्भावित सहमतिको कडा आलोचना गरेका छन् । उनीहरूले सम्झौतामार्फत इरानलाई आर्थिक र रणनीतिक लाभ पुग्ने सम्भावनाप्रति गम्भीर आपत्ति जनाएका हुन् । सिनेटर क्रुजले त यस्तो सम्भावित परिणामलाई ‘विनाशकारी गल्ती’ हुन सक्ने भन्दै चेतावनी समेत दिएका छन् ।
आफ्नै दलभित्रबाट आएका आलोचनाहरूको प्रतिक्रिया दिँदै विदेशमन्त्री रुबियोले इरानविरुद्ध सुरु गरिएको ‘एपिक फ्युरी’ नामक सैन्य अभियानको उद्देश्य स्पष्ट रहेको प्रस्ट पारे । उनले यस अभियानअन्तर्गत इरानको नौसेना क्षमतामा ठुलो क्षति पुर्याइएको जानकारी दिए ।
अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्ने क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाउने र त्यहाँको रक्षा–औद्योगिक संरचनामा क्षति पुर्याउने लक्ष्य राखेको बताउँदै रुबियोले भने, "‘एपिक फ्युरी’ अभियानका सबै प्रमुख उद्देश्यहरू सफलतापूर्वक पूरा भइसकेका छन् ।"