विकास आयोजनाका अवरोध हटाउन र मूल्यवृद्धि समस्या समाधान गर्न सरकारलाई निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
675
Shares
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणका काममा देखिएका अवरोध हटाउन तथा निर्माण सामग्रीको मूल्यवृद्धिबाट उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित सरोकारवालासँग छलफलपछि समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनामा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए ।
उनका अनुसार इन्धन, बिटूमिनलगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा भएको तीव्र वृद्धिका कारण निर्माण व्यवसायीहरू समस्यामा परेका छन् ।
विशेषगरी युक्रेन-रुस युद्धको प्रभावले विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालका विकास आयोजनाहरू समेत प्रभावित बनेको समितिको निष्कर्ष छ ।
सभापति गजुरेलले मूल्यवृद्धिका कारण धेरै निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको र यसले राष्ट्रिय अर्थतन्त्र तथा विकास निर्माणमै गम्भीर असर पार्न सक्ने बताए ।
समितिले यस्तो अवस्थाको तत्काल समाधान खोज्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले हालको सार्वजनिक खरिद कानुन पनि विकासमैत्री नभएको निष्कर्ष निकालेको छ । कानूनी जटिलताका कारण विकास निर्माणमा अनावश्यक ढिलाइ र समस्या उत्पन्न भइरहेको भन्दै समितिले चालु संसदीय अधिवेशनमै सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको जनाएको छ ।
समितिका अनुसार विकास निर्माणलाई सहज, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।