arrow

विदेशी पर्यटकको सहजताका लागि मुस्ताङको छुसाङ–पा–ताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
chusang-patanga-track-.jpg

काठमाडौँ ।  उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको पदयात्रालाई सुरक्षित र सहज बनाउन छुसाङ–पा–ताङ्ग्या पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य सुरु गरिएको छ। सडक सञ्जालको विस्तारसँगै मुस्ताङका पुराना पदमार्गहरू मासिँदै गएका बेला राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले यो महत्त्वपूर्ण पर्यटकीय पदमार्गको सुधार थालेको हो।

कालीगण्डकी करिडोर सडकको पश्चिममा पर्ने छुसाङ, तेताङदेखि पा हुँदै ताङ्ग्या जोड्ने यो बाटो उपल्लो मुस्ताङ जाने पदयात्रीहरूका लागि निकै महत्त्वपूर्ण मानिन्छ। झन्डै नौ घण्टाको पैदल दूरी रहेको यस पदमार्गमा बर्सेनि वर्षायामको भेलबाढी र पहिरोले क्षति पुर्‍याउँदा विदेशी पर्यटकहरूले निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो। विभिन्न ट्रेकिङ एजेन्सीहरूले पनि यसको मर्मतका लागि लामो समयदेखि ध्यानाकर्षण गराउँदै आएका थिए।

एक्याप लोमान्थाङ र जोमसोम कार्यक्षेत्र भित्र पर्ने स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) ले गत वैशाख १५ गतेदेखि नै पदमार्ग मर्मतको काम अगाडि बढाएका हुन्। एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यासम्मको यो पदमार्गलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ।

छुसाङदेखि पासम्मको खण्डमा छुसाङ संरक्षण क्षेत्र व्यवस्थापन समिति र ताङ्ग्यादेखि पासम्मको खण्डमा सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले घरेलु औजारसहित स्थानीय जनशक्ति परिचालन गरेका छन्। पदमार्गका कतिपय संवेदनशील स्थानमा ग्याबियन पर्खाल (प्रोटेक्सन) लगाइएको छ भने दुई स्थानमा काठेपुल समेत निर्माण गर्न लागिएको छ। प्रमुख पौडेलले आगामी दुई साताभित्र मर्मतका सम्पूर्ण कार्य सम्पन्न भइसक्ने जानकारी दिए।

एक्यापको प्रयाससँगै स्थानीय सरकारले पनि यस क्षेत्रको पदमार्ग सुधारमा तत्परता देखाएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ध्ये खोलादेखि त्याङ्ग्यासम्मको पर्यटकीय पदमार्ग मर्मत गराएको छ। कार्यक्रमको कार्यविधिअनुसार स्थानीय विपन्न नागरिकहरूलाई दैनिक ज्यालादारीमा खटाएर यो काम सम्पन्न गरिएको हो।

सडक विस्तारका कारण रैथाने पदमार्गहरू सङ्कटमा परिरहेका बेला यस ऐतिहासिक र प्राकृतिक पदमार्गको संरक्षण एवं स्तरोन्नतिले उपल्लो मुस्ताङ पुग्ने विदेशी पर्यटकहरूको यात्रा निकै सहज र सुरक्षित हुने विश्वास एक्यापले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ