थाइल्याण्डले गर्यो ९३ देशको ६० दिने भिसा सुविधा खारेज
'भिसा अन अराइभल' मा पनि भारी कटौती
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
2k
Shares
काठमाडौँ । थाइल्याण्ड सरकारले आफ्नो देशको भिसा नीतिमा व्यापक परिमार्जन गरेको छ। मङ्गलवार बसेको थाइ मन्त्रिपरिषद् बैठकले ९३ देश तथा क्षेत्रका पर्यटकहरूका लागि उपलब्ध गराइँदै आएको ६० दिने भिसा-मुक्त (भिसा-एग्जेम्प्सन) प्रवेश सुविधा पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो।
थाइ परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय सुरक्षा, पर्यटन अर्थतन्त्रको सन्तुलन र कूटनीतिक पारस्परिकता (रेसिप्रोसिटी) लाई मध्यनजर गर्दै प्रवेश प्रक्रियालाई थप व्यवस्थित र सुदृढ बनाउन यो नयाँ व्यवस्था लागू गरिएको हो। यो नीति थाइल्याण्डको आधिकारिक सरकारी राजपत्र ‘रोयल गजेट’ मा प्रकाशित भएको १५ दिनपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।
कन्सुलर मामिला विभागका महानिर्देशक मुङकोर्न प्रतुमकाउले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार भिसा सुविधामा हुने दोहोरोपन र अन्योल हटाउन अबदेखि प्रत्येक देश वा क्षेत्रका लागि केवल एउटा मात्र भिसा छुट योजना लागू गरिनेछ। उनले यसअघि ९३ वटा देशहरूले पाउँदै आएको ६० दिने भिसा छुट योजना अब इतिहास बनेको स्पष्ट पारे।
यसै गरी थाइल्याण्ड सरकारले ३० दिने भिसा छुट पाउने देशहरूको सङ्ख्या पनि ५७ बाट घटाएर ५४ कायम गरेको छ। यो ३० दिने सुविधा अबदेखि केवल विशुद्ध पर्यटन (टुरिजम) प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने अनिवार्य व्यवस्था गरिएको छ। व्यापार वा अन्य प्रयोजनका लागि यो भिसा प्रयोग गर्न पाइने छैन।
परिमार्जित नीतिअनुसार थाइ सरकारले तीनवटा देशका नागरिकका लागि भने १५ दिने नयाँ भिसा छुट योजना समेत ल्याएको छ।
यसै गरी, विदेशी पर्यटकहरूका लागि निकै लोकप्रिय रहेको आगमनमा दिइने भिसा (भिसा–अन–अराइभल) कार्यक्रममा पनि थाइल्याण्डले व्यापक कटौती गरेको छ। यसअघि विश्वका ३१ वटा देश तथा क्षेत्रले पाउँदै आएको यो भिसा–अन–अराइभल सुविधा अब केवल ४ वटा देशमा मात्र सीमित गरिएको महानिर्देशक प्रतुमकाउले बताए। यो निर्णयसँगै थाइल्याण्ड भ्रमणमा जाने धेरै देशका नागरिकहरूले अब यात्रा गर्नुअघि नै अनिवार्य रूपमा थाइ दूतावास वा कन्सुलर कार्यालयबाट भिसा लिनुपर्नेछ।