arrow

ऐतिहासिक खजानाको पुनरागमन

चोरी भएको २५ सय वर्ष पुरानो सुनौलो हेलमेट अन्ततः रोमानिया फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
gold-helmate-romania.jpg

काठमाडौँ ।  नेदरल्यान्ड्सको सङ्ग्रहालयबाट चोरी भएको २५ सय वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका ऐतिहासिक सम्पदाहरू अन्ततः रोमानिया फिर्ता गरिएका छन्। 

जनवरी २०२५ मा ड्रेन्ट्स सङ्ग्रहालयबाट योजनाबद्ध रूपमा चोरी भएका डेसिया सभ्यतासँग सम्बन्धित 'कोटोफेनेस्टी हेलमेट' र तीनवटा सुनौलो ब्रेसलेटहरू करिब १४ महिनाको अनुसन्धान र कूटनीतिक प्रयासपछि स्वदेश फर्काइएको हो। 

मंगलबार बुखारेस्टस्थित विमानस्थलमा ल्याइएका ती वस्तुहरूलाई कडा सुरक्षाका साथ राष्ट्रिय इतिहास सङ्ग्रहालयमा पुर्‍याइएको छ र हाल सशस्त्र सुरक्षाकर्मीको निगरानीमा सार्वजनिक अवलोकनका लागि राखिएको छ।

सङ्ग्रहालयका निर्देशक कर्नेल कन्स्टान्टिन इलीले यी सम्पदालाई राष्ट्रिय पहिचान र ऐतिहासिक स्मृतिको जीवित अवशेषका रूपमा चित्रण गरेका छन्। चोरीको समयमा भएको विस्फोट र तोडफोडका कारण फिर्ता भएको हेलमेटमा केही क्षति देखिएको छ भने दुईवटा ब्रेसलेट सुरक्षित फेला परेका छन्। 

यद्यपि, चोरी भएका तीनमध्ये एउटा सुनौलो ब्रेसलेट अझै फेला परेको छैन र त्यसको खोजी कार्य जारी रहेको डच अधिकारीहरूले बताएका छन्।

रोमानियाका संस्कृतिमन्त्री डिमेटर अन्द्रास इस्तवानले यस घटनाले सांस्कृतिक सम्पदाको संवेदनशीलता र सुरक्षा चुनौतीलाई उजागर गरेको बताएका छन्। डच र रोमानियाली प्रहरी तथा न्यायिक निकायको उत्कृष्ट समन्वयका कारण यो बहुमूल्य खजाना पगालिन वा हराउनबाट जोगिएकोमा अधिकारीहरूले राहत व्यक्त गरेका छन्। 

मर्मतसम्भारपछि यी वस्तुहरूलाई पुनः स्थायी रूपमा प्रदर्शन गरिनेछ, जसलाई रोमानियाले आफ्नो ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ