प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
527
Shares
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मङ्गलवार बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको योग्यता, अवधारणा र भावी कार्ययोजनामाथि गहन छलफल र सुनुवाइ गर्दै उनको नाम स्वीकृत गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम डा. शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत गरिएको हो।
संवैधानिक परिषद्को गत वैशाख २४ गते बसेको बैठकले उनलाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
सुनुवाइ प्रक्रियाका क्रममा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध शैक्षिक योग्यता, संवैधानिक हैसियत र न्याय सम्पादन क्षमतालाई लिएर विभिन्न उजुरीहरू परेका थिए। ती उजुरीहरूका सन्दर्भमा समेत समितिले विशेष निर्णय गरेको छ।
सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त भएका उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण र वर्गीकरण गरिनेछ। ती उजुरीहरूलाई आवश्यक समीक्षा र अध्ययनसहित अभिलेखका लागि सिफारिसकर्ता निकाय अर्थात् संवैधानिक परिषद्मै फिर्ता पठाइने सहमति समितिमा भएको छ। उनले आगामी दिनमा संसदीय सुनुवाइको प्रक्रियालाई थप परिष्कृत, मर्यादित र सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक बाटो खुलेको छ। अब संसदीय समितिको यो निर्णयसहितको पत्र राष्ट्रपति कार्यालय पठाइनेछ र राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति भई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने संवैधानिक प्रावधान रहेको छ।