arrow

खाडी मुलुकको अपिलपछि अमेरिकाले गर्‍यो इरानमाथिको नियोजित आक्रमण स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
trump-21.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूको विशेष अनुरोध र अपिलपछि इरानमाथि गर्ने भनिएको नियोजित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक लामो विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले इरानसँग गम्भीर वार्ता चलिरहेको भन्दै पूर्वनिर्धारित आक्रमण रोक्न आग्रह गरेको जानकारी दिए।

राष्ट्रपति ट्रम्पले अमेरिका इरान विरुद्ध थप सैन्य कारबाहीको पूर्ण तयारीमा रहेको कुरामा जोड दिँदै खाडी क्षेत्रका मित्रराष्ट्र र सहयोगी नेताहरूप्रतिको सम्मानका कारण मात्र आक्रमणमा केही ढिलाइ गरिएको प्रस्ट पारेका छन्। मध्यपूर्वमा शान्ति सम्झौताको बलियो सम्भावना रहेको र हाल गम्भीर वार्ताहरू भइरहेको उल्लेख गर्दै ट्रम्पले सबै पक्षका लागि स्वीकार्य हुने खालको सम्झौता हुन सक्ने विश्वास व्यक्त गरे। यो सम्झौता संयुक्त राज्य अमेरिका, मध्यपूर्वका देशहरू र समग्र विश्व समुदायकै हितमा हुने उनको भनाइ छ।

ट्रम्पले सम्झौताको मुख्य सर्तका रूपमा इरानसँग कुनै पनि प्रकारको आणविक हतियार वा सोसम्बन्धी कार्यक्रम समावेश हुन नहुने अडान दोहोर्‍याएका छन्।

खाडी मुलुकका नेताहरूको आग्रहलाई स्वीकार गर्दै ट्रम्पले रक्षा सचिव (सेक्रेटरी अफ वार) पीट हेग्सेथ, द जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल डेनियल केन र अमेरिकी सेनालाई मंगलबारका लागि तय गरिएको आक्रमण रोक्न निर्देशन दिएको बताए। तर, उनले सँगसँगै कडा चेतावनी दिँदै यदि कुनै स्वीकार्य सम्झौता हुन नसकेमा एउटै सूचना (सर्ट नोटिस) का भरमा इरानमाथि ठूलो स्तरको सैन्य आक्रमण गर्न पूर्ण रूपमा तयार रहन समेत अमेरिकी सेनालाई कडा निर्देशन दिएका छन्।

यसअघि इरानले अमेरिकाको शान्ति प्रस्तावलाई अस्वीकार गरेपछि र आफ्नो आणविक कार्यक्रमलाई तीव्र बनाएपछि मध्यपूर्वमा युद्धको खतरा उच्च बनेको थियो। वासिङ्टनले कूटनीतिक र सैन्य दुवै विकल्पहरू खुला राखेर हेरिरहेको यो घटनाक्रम निकै संवेदनशील मोडमा पुगेको छ। अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्प वार्ताको माध्यमबाट समाधान खोज्न इच्छुक भए पनि तेहरानले वासिङ्टनका तर्फबाट दिइएका छुटहरूलाई बेवास्ता गरेकाले अमेरिकी प्रशासन केही निराश बनेको थियो।

इरानको पछिल्लो प्रति–प्रस्ताव आइतबार राति पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासम्म पुर्‍याइएको बताइएको छ। यद्यपि, एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार संशोधित प्रस्तावको पाठमा अघिल्ला सर्तहरूको तुलनामा निकै सीमित परिवर्तनहरू मात्र गरिएकाले वार्ताले ठोस रूप लिन अझै बाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ