वसन्त ऋतुको हिमाल आरोहण: ११ सय ८१ आरोहीले लिए अनुमति
सगरमाथाबाट मात्रै १ अर्ब ७ करोडभन्दा बढी राजस्व सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
440
Shares
काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०२६ को यस सिजनमा हिमाल चढ्न विश्वका ७९ देशका एक हजार १८१ जना आरोहीले औपचारिक अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष पनि सबैभन्दा धेरै आकर्षण सगरमाथा आरोहणमा देखिएको छ, जहाँ हालसम्म ५५ देशका ४९४ जना आरोहीले अनुमति बुझिसकेका छन्।
सगरमाथा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी १०९ जना चिनियाँ नागरिक रहेका छन्। यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रुसका १८, अस्ट्रेलियाका १५, जापानका १४, नेपालका १२ र ब्राजिलका १० जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले जानकारी दिए। सगरमाथा बाहेक अन्य हिमालतर्फ ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६ र धवलागिरि हिमालका लागि ३० जनाले आरोहण अनुमति लिएका छन्।
नेपालमा पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमालहरूलाई मात्र आरोहणको अनुमति दिँदै आएको छ। त्यसभन्दा कम अर्थात् ५ हजार ८०० मिटरदेखि ६ हजार ५०० मिटरसम्मका हिमाल आरोहणको अनुमति व्यवस्थापन गर्ने जिम्मेवारी भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) लाई दिइएको छ।
विभागले यस वर्ष विभिन्न हिमालको आरोहण अनुमति जारी गरेबापत कुल एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ रोयल्टी संकलन गरेको छ। यसमा सबैभन्दा ठूलो हिस्सा सगरमाथाको रहेको छ, जहाँबाट मात्रै एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व उठेको छ। त्यसबाहेक ल्होत्सेबाट छ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्घाबाट एक करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट एक करोड ३४ लाख ५४ हजार ५५० र अन्नपूर्ण प्रथमबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
अनुमति पाएसँगै विभिन्न हिमालहरूमा आरोहणको लहर सुरु भइसकेको छ। यस वर्ष सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने र बाटो बनाउने काम सम्पन्न भएसँगै यही वैशाख ३१ गतेबाटै व्यावसायिक आरोहण सुरु भइसकेको हो। बाटो खुलेपछि अहिले आरोहीहरूले धमाधम सफल आरोहण गरिरहेका छन्। पछिल्ला वर्षहरूमा साहसिक पर्यटन र हिमाल आरोहणका लागि नेपाल विदेशी पर्यटकहरूको पहिलो रोजाइ बन्दै गएको यस तथ्याङ्कले स्पष्ट पार्छ।