arrow

शंखरापुर नगरपालिका यथावतरुपमा कायम गराउन आमरण अनसन

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
shankarapur_aamaran-ansan.jpeg
काठमाडौं । शंखरापुर नगरपालिका यथावतरुपमा कायम गराउन माग गर्दै आमरण अनसन सुरु भएको छ । नागरिक अगुवा ई. राजदास श्रेष्ठले शनिबार दिउँसो देखि सक्व सभाहल शंखरापुर–११, साँखुमा आमरण अनसन सुरु गरेका हुन् ।
उनले स्थानीय तह पुनर्संरचना आयोगले रिपोर्ट बुझाउनु अघिकै शंखरापुर नगरपालिका यथावतरुपमा कायम गराउनका लागि शनिबारदेखि नै अनसन सुरु गरेको जनाएका छन् । 
 
उनलाई शंखरापुर नागरिक समाजका अगुवाहरुले साथ दिँदै आएका छन् । शंखरापुर नगरपालिका यथावत कायम गराउनका लागि दबाव स्वरुप शंखरापुर नागरिक समाजले सुरु गरेको आन्दोलन करिब १ महिना पुगेको छ । गत माघ २३ गतेदेखि नागरिक समाजका संयोजक रुपेशलाल श्रेष्ठको संयोजकत्वमा शंखरापुर नगरपालिकामा तालाबन्दी गर्दै समाजले आन्दोलन सुरु गरेको हो । 
 
यस अघि सांसद दीपक प्रसाद कुइँकेलको संयोजकत्वमा शंखरापुर बचाउ संघर्ष समिति गठन गरिएको थियो । शंखरापुर बचाउ संघर्ष समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत प्रभातफेरि, ज्ञापन पत्र दिने कार्य गरेको थियो । नागरिक समाजले दोस्रो चरणको आन्दोलनमा शंखरापुर नगरपालिकाका सम्पूर्ण कार्यालयहरुमा तालावन्दी, शंखरापुर नगरपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरुमा तालावन्दी, शिक्षण संस्था बन्द, माघ २६ गते ५ घण्टे शंखरापुर बन्द गरिएको थियो । 
 
त्यसपछि तेस्रो चरणको कार्यक्रममा आयोगको रिपोर्टलाई सरकारले स्वीकार गरी ३ सदस्यीय मन्त्रिस्तरीय कार्यदल बनाएपछि समाजले सो कार्यदलका संयोजक हितराज पाण्डे, सदस्यहरु दीपक बोहोरा र नविन्द्रराज जोशीकहाँ डेलिगेसन सहित ज्ञापनपत्र बुझाउने कार्य गरेको थियो ।
 
त्यसपछि पनि सुनुवाई नभएपछि शंखरापुर नागरिक समाजले सिडियो कार्यालय घेराउ, मसाल जुलुस, शंखरापुर बन्द लगायतका कार्यक्रमहरु सार्वजनिक गर्दै पत्रकार सम्मेलन सहितका कार्यक्रमहरु तय ग¥यो । यो चरणको आन्दोलनपछि समाजकै अग्रसरतामा फाल्गुन १३ गतेदेखि २४ घण्टे रिले अनसनको कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा बसेको थियो । तर ७ औँ दिन साँझ सरकारी कार्यदलको तर्फबाट पनि प्रकाशित समाचारमा पनि शंखरापुर नगरपालिका यथावत कायम नभएपछि फाल्गुन २१ गते बिहान संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जुस खुवाई रिले अनसन तोडाएका थिए ।
 
सो लगत्तै नागरिक अगुवा एवं ई. राजदास श्रेष्ठले आमरण अनसनको घोषणा गर्दै शनिबारदेखि सक्व सभा हलमा आमरण अनसनको थालनी गरेका हुन् । उनले स्पष्ट रुपमा जबसम्म शंखरापुर नगरपालिका यथावत कायम हुँदैन तबसम्म आमरण अनसन जारी रहने अडान राख्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ