arrow

विश्वकप लिग–२ मा नेपाललाई लगातार दोस्रो सफलता, स्कटल्याण्डमाथि ६ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
nep-scot-26-5-18.jpg

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक क्रिकेटमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । 

सोमबारको खेलमा १९५ रनको चुनौती नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले९८ बलमा अविजित रहँदै ७४ रन जोडे ।

इशान पाण्डेले ६१ बलमा ५५ रन बनाए । दुवैबीच तेस्रो विकेटका लागि १०४ रनको साझेदारी भएको थियो । पाण्डेले दोस्रो एक दिवसीय खेलमै अर्धशतक बनाएका हुन् । 

यसअघि स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ३९ ओभर १ बलमात्र क्रिजमा टिकेर १९४ रन बनायो ।  ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ७३ तथा माइकल इङलिशले ७२ बलमा ५१ रन जोडे पनि टिमले उच्च योगफल जोड्न सकेन ।

नेपालका लागि ललित राजव‌ंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले ७३ खेलमै डेढ सय विकेट लिने कीर्तिमानसमेत रचेका छन् । 

सोमपाल कामी दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १ विकेट लिए । नेपालले यसअघि अमेरिकालाई ९ विकेटले हराएको थियो भने स्कटल्याण्डसँग मात्र २ रनले हारेको थियो । 

अंक तालिका

नेपाल लगातार दुई जितसँगै अंक तालिकामा फड्को मार्न सफल भएको छ । नेपाल पाँचौँ स्थानमा पुगेको छ । नेपाल २७ खेलबा६ २२ अंकसहित पाँचौँ स्थानमा पुगेको हो । ३१ खेलबाट ३८ अंकसहित स्कटल्याण्ड पहिलो स्थानमा छ । 

२६ खेलबाट ३६ अंकसहित अमेरिका दोस्रो स्थानमा छ। २८ खेलबाट ३१ अंकसहित ओमान तेस्रो स्थानमा रहँदा २४ खेलबाट २८ अंकको नेदरल्याण्डस् चौथो स्थानमा छ । 

नामिबिया २८ खेलमा २२ अंकसहित छटौँ स्थाना रहँदा २४ खेलबाट २१ अंकसहित क्यानाडा सातौँ स्थानमा छ । 

पुछारको यूएईको २४ खेलमा १४ अंक छ । 

नेपालको विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने नेपालको सम्भावना जीवितै रहेको छ । नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट हुनका लागि अब बाँकी रहेका आफ्ना सबै  खेलहरू जित्नुपर्ने कठिन चुनौती छ।

यस्तै आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न पनि नेपाल अङ्क तालिकाको शीर्ष छ स्थानभित्र पर्नु अनिवार्य छ। अहिले पाँचौँ स्थानमा रहे पनि नेपालले जितको लयलाई निरन्तरता नदिने हो भने त्यो सम्भावना पनि कम हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ