नेपाललाईविश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन खेल्न बाँकी सबै ११ वटै खेल जित्नुपर्ने, एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनै पर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
587
Shares
तस्बिर : फाइल
काठमाडौँ । काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजेदेखि शुरू हुँदैछ ।
जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लेविस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । अर्थात् नेपालले गर या मरको खेल खेल्नुपर्नेछ ।
नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड ३० खेलबाट १६ जित र आठ हारसहित ३८ अङ्कबाट पहिलो स्थानमा छ ।