काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा स्कटल्याण्डले घरेलु टोली नेपाललाई १९५ रनको लक्ष्य दिएको छ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो।
स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रनको योगदान दिए भने माइकल लिस्कले अर्धशतकीय पारी खेले। त्यस्तै जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्क जोड्न सकेनन्।
बलिङतर्फ नेपालका ललित राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै, सन्दीप लामिछानेले ३ विकेट तथा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक-एक विकेट लिए।
यसै खेलमा लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन्। खेलमा आफ्नो दोस्रो विकेट लिने बित्तिकै उनले यो अद्वितीय कोसेढुङ्गा पार गरेका हुन्।
सन्दीपले मात्र ७३ एकदिवसीय खेलमा १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको रेकर्ड भंग गरे। यसअघि यो कीर्तिमान स्टार्कको नाममा थियो, जसले १५० विकेट लिन ७७ खेल खेलेका थिए।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित यस शृङ्खलामा हालसम्म तीन खेल भइसकेका छन्। स्कटल्याण्डले आफ्नो पहिलो खेलमा नेपाललाई डिएलएस नियमका आधारमा २ रन र दोस्रो खेलमा अमेरिकालाई पनि सोही नियमका आधारमा २ रनले पराजित गरेको थियो। नेपालले भने गत शनिबार भएको तेस्रो खेलमा अमेरिकालाई ९ विकेटको अन्तरले पराजित गर्दै उत्कृष्ट पुनरागमन गरेको थियो।
विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट हुने सम्भावना जीवितै राख्न र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ। नेपाललाई सिधै छनोट हुन अब बाँकी रहेका सबै १० खेल जित्नुपर्ने कठिन चुनौती छ भने ओडीआई मान्यता जोगाउन अङ्क तालिकाको शीर्ष ६ भित्र पर्नु अनिवार्य छ।
हाल अङ्क तालिकामा नेपाल २६ खेलमा ९ जित, १५ हार र २ अनिर्णित नतिजासहित २० अङ्कका साथ सातौँ स्थानमा छ। अर्कोतर्फ शीर्ष स्थानमा रहेको स्कटल्याण्डको ३० खेलबाट १६ जित, ८ हार र ६ अनिर्णित नतिजासहित कुल ३८ अङ्क रहेको छ। नेपाल अहिले १९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको छ।