arrow

हमासका सैन्य प्रमुख मारिएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
israel-hezbollah- hamas-war.jpg

काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना सैन्य दस्ता ‘अल–कसम ब्रिगेड’का कमान्डर इन चिफ इज अलदिन अल हद्दाद इजरायली हवाई आक्रमणमा मारिएको आधिकारिक पुष्टि गरेको छ। 

हमासका प्रवक्ता हाजेम कासिमले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै शुक्रबार गाजा सहरमा भएको इजरायली आक्रमणमा हद्दाद मारिएको जानकारी दिएका हुन्।

प्यालेस्टिनी स्रोतका अनुसार शनिबार गाजा सिटीमा अल–हद्दादको अन्त्येष्टि सम्पन्न भएको छ। मध्य गाजाको अल–अक्सा शहीद मस्जिदबाट सुरु भएको शवयात्रामा सयौँ प्यालेस्टिनीहरूको सहभागिता रहेको थियो। 

उक्त घातक आक्रमणमा हद्दादका साथै उनकी पत्नी र छोरीको पनि मृत्यु भएको छ। शवयात्रामा सहभागीहरूले इजरायली सैन्य कारबाहीको कडा निन्दा गर्दै प्रतिशोधात्मक नाराबाजी गरेका थिए।

यसअघि शनिवार नै इजरायली सेना र आन्तरिक सुरक्षा निकाय ‘सिन बेट’ले एक संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रबारको हवाई आक्रमणमा हद्दाद मारिएको दाबी गरेका थिए। इजरायलका अनुसार हद्दाद ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको घातक आक्रमणका मुख्य योजनाकारमध्ये एक थिए। इजरायली सैन्य प्रमुख इयाल जामिरले एक छुट्टै विज्ञप्ति जारी गर्दै अक्टोबर ७ को घटनामा संलग्न जोकोहीलाई पनि नछाड्ने र खोजेरै कारबाही गर्ने चेतावनी दिएका छन्।

प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार शुक्रबार गाजा सहरको एउटा आवासीय भवन र सवारी साधनमा भएको इजरायली आक्रमणमा हद्दादको परिवारसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।

‘घोस्ट अफ अल–कसम’ (अल–कसमको भूत) उपनामले चिनिने अल–हद्दाद इजरायलको ‘मस्ट वान्टेड’ सूचीमा रहेका शीर्ष सैन्य कमान्डर थिए। इजरायली सञ्चारमाध्यमका अनुसार उनी यसअघि भएका कयौँ ठूला हवाई तथा स्थलगत हत्या प्रयासहरूबाट जोगिन सफल भएका थिए।

गाजास्थित राजनीतिक विश्लेषक आहेद फेरवानाका अनुसार अल–हद्दादको मृत्युले हमासको स्थलगत कमान्ड सञ्चालन र सैन्य रणनीतिमा ठूलो धक्का पुग्ने र प्रभाव पार्न सक्ने देखिन्छ। विश्लेषक फेरवानाले यस आक्रमणको समयलाई इजरायलको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरेका छन्। उनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्भावित निर्वाचनअघि आफ्नो खस्कँदो राजनीतिक साख बलियो बनाउन यस्ता सैन्य सफलतालाई रणनीतिक रूपमा प्रयोग गर्न खोजेका हुन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ