arrow

महालेखा परीक्षकको प्रतिवेदन

सार्वजनिक निकायमा बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता [भिडियो]

वित्तीय अनुशासन कायम गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
ramchandra-poudel-02-01.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायहरूमा बढ्दै गएको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन्। महालेखा परीक्षकको कार्यालयले संविधान बमोजिम पेश गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति पौडेलले सरकारी खर्चमा बेरुजु बढ्दै जानुले सार्वजनिक निकायहरूको जवाफदेहिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए। उनले बेरुजु फस्र्यौटलाई प्राथमिकता दिन र वित्तीय सुशासन कायम गर्ने दिशामा सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए।

राष्ट्रपतिले अनियमित सरकारी खर्चलाई निरुत्साहित गरेर मात्रै मुलुकमा दिगो शान्ति र समृद्धि सम्भव हुने उल्लेख गरे। उनले भने, "अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मात्र मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि युवा पुस्ताले राखेको आकांक्षा पूरा हुन सक्छ।"

आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण रहने भन्दै उनले आगामी दिनमा संस्थागत एवं पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्न कार्यालय अझ क्रियाशील हुनुपर्ने सुझाव दिए।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई बुझाइएको यो प्रतिवेदन अब प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेश हुनेछ। संघीय संसदमा यस प्रतिवेदनका विषयहरूमा गम्भीरतापूर्वक छलफल भई उचित निष्कर्ष निस्कनेमा आफू विश्वस्त रहेको समेत राष्ट्रपतिले बताए। कार्यक्रममा महालेखा परीक्षक तोयम राया, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ