अन्तिम ओभरको रोमाञ्चक जित: तिलकको आक्रामक ७५ रनले पञ्जाब स्तब्ध, मुम्बई विजयी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
1k
Shares
काठमाडौँ । आईपीएलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। धर्मशालास्थित एचपिसिए स्टेडियममा बिहीबार भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्यो।
जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक भएको चुनौतीपूर्ण अवस्थामा मुम्बईले १ बल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो। मुम्बईको जितका मुख्य नायक तिलक वर्मा रहे । जसले ३३ बलमा अविजित ७५ रनको विस्फोटक इनिङ खेले। उनलाई रायन रिकल्टनले ४८ रन र विल ज्याक्सले १० बलमा अविजित २५ रन जोड्दै बलियो साथ दिएका थिए। तिलक र ज्याक्सबीच पाँचौँ विकेटका लागि भएको अविजित ५६ रनको साझेदारी नै मुम्बईको जितको आधार बन्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किङ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०० रनको मजबुत योगफल तयार पारेको थियो। पञ्जाबका लागि प्रारम्भिक ब्याटर प्रभसिमरन सिंहले सर्वाधिक ५७ रनको अर्धशतकीय योगदान दिए भने अजमतुल्लाह ओमरजईले १७ बलमा ३८ रनको आक्रामक पारी खेले।
खेलको अन्त्यतिर जेभियर बार्टलेटले ७ बलमा १८ रन जोडेपछि टोलीको स्कोर २०० पार भएको थियो। बलिङतर्फ मुम्बईका शार्दूल ठाकुर सबैभन्दा सफल रहे । ठाकुरले ४ विकेट लिए भने दीपक चाहरले २ विकेट चट्काए।
पञ्जाबका लागि अजमतुल्लाह ओमरजईले २ विकेट तथा युजवेन्द्र चहल र मार्को यानसनले १-१ विकेट लिए पनि टोलीलाई लगातार पाँचौँ हारबाट बचाउन सकेनन्। पञ्जाबले सुरुवातमा तीव्र गतिमा रन बनाए पनि मध्य ओभरमा लगातार विकेट गुमाउँदा केही दबाबमा परेको थियो।