arrow

सरकारको नीति तथा कार्यक्रम

छलफल छ घण्टामा सीमित गर्नु संसद्को अपमान: सांसद केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
kc-arjun.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा मात्र सीमित गरिनु संसद्को घोर अपमान भएको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले बहुमतको दम्भ देखाएर विपक्षीको आवाजलाई निस्तेज पार्न खोजिएको आरोप लगाए।

सांसद केसीले विगतमा नीति तथा कार्यक्रममाथि न्यूनतम तीन दिनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको स्मरण गराए। उनले सत्तारुढ दलका सांसदहरूलाई जापान, बेलायत, अस्ट्रेलिया र भारतजस्ता देशका संसदीय अभ्यास हेर्न आग्रह गर्दै भने, "संसारभरि संसद् सञ्चालनको आधार संविधान, नियमावली र स्थापित नजिरहरू हुन्। यी प्रत्येक देशमा नीति तथा कार्यक्रमको मुख्य आधार प्रधानमन्त्री हुने भएकाले उनी सहभागी हुनैपर्छ र जवाफ दिनुपर्छ भन्ने मान्यता छ।"

प्रधानमन्त्री बालेन्द्र साहको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाउँदै उनले संविधानको धारा ७६ (१०) को उल्लेख गरे। उक्त धाराअनुसार प्रधानमन्त्री र मन्त्रीहरू संसद्प्रति सामूहिक र व्यक्तिगत रूपमा जवाफदेही हुनुपर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे। उनले प्रश्न गरे, "के प्रधानमन्त्री व्यक्तिगत रूपमा संसद्प्रति जवाफदेही हुनुपर्दैन? नेपालको इतिहासमा एउटा मात्र यस्तो नीति तथा कार्यक्रम देखाउनुस् जहाँ प्रधानमन्त्री उपस्थित नभएको होस्, म हार स्वीकार गर्छु।"

सांसद केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई 'सपना बेच्ने, यथार्थ थन्काउने र आशा–निराशाको दस्तावेज' को संज्ञा दिए। केही सकारात्मक कार्यक्रम देखिए पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट रणनीति र दिशा नभएको उनको ठहर छ। संसद्लाई अहंकार र आवेगबाट नभई विवेक र चेतनाबाट चलाउनुपर्नेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ