सरकारको नीति तथा कार्यक्रममा दृष्टि र कार्यान्वयनको आधार छैन : पद्मा अर्याल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
312
Shares
काठमाडौँ। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले वर्तमान सरकारप्रति जनताले असाधारण आशा राखे पनि प्रस्तुत दस्तावेजले जनताको भरोसा र उत्साहलाई सम्बोधन गर्न नसकेको बताइन् ।
अर्यालले नीति तथा कार्यक्रममा स्पष्ट दृष्टि, कार्यान्वयनको आधार र जनजीवन परिवर्तन गर्ने साहसिक संकल्प नदेखिएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छन्, दृष्टि छैन। घोषणा छन्, दिशानिर्देश छैन । नाराहरू छन्, तर कार्यान्वयनको आधार छैन। आफूलाई नवीन सोचको सरकार भन्ने नेतृत्वले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो ।’
उनले नीति र कार्यक्रमबीचको भिन्नता समेत स्पष्ट नभएको उल्लेख गर्दै सरकारको दस्तावेज राष्ट्रको साझा दस्तावेज भएकाले आलोचना गर्नु विरोधका लागि विरोध नभई जिम्मेवारी भएको बताइन् ।
अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्पलाई नीति तथा कार्यक्रमबाट हटाइएको भन्दै असन्तुष्टि जनाइन् ।
उनले भनिन्, ‘देश समृद्ध त बन्ला, तर जनता खुशी र सुखी भएनन् भने समाजवादमा कसरी पुग्न सकिन्छ? राम्रा अभ्यासलाई समेत अस्वीकार गर्ने प्रयास किन गरियो ?’
संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि नीति तथा कार्यक्रममा ‘समाजवाद’ शब्द नै उल्लेख नगरिएको उनको टिप्पणी थियो ।
तीनखम्बे अर्थनीतिलाई उपेक्षा गरिएको आरोप लगाउँदै उनले सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पनि अविश्वसनीय रहेको बताइन् ।
अर्यालले कृषि, पर्यटन, जडीबुटी, ऊर्जा र औद्योगिकीकरणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझावसमेत दिइन् ।