काठमाडौँ। नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई सीमा विवाद नभई अतिक्रमित नेपाली भूमि भनेर स्पष्ट रूपमा उल्लेख गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा प्रत्येक देशको प्रमुख दायित्व हुने बताए ।
ठगुन्नाले १८१६ अघि नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म फैलिएको दाबी गर्दै सुगौली सन्धिपछि नेपालको भूगोल खुम्चिएको उल्लेख गरे ।
उनका अनुसार सुगौली सन्धिको पालना नेपालले गरे पनि भारतीय पक्षले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा करिब ४ सय वर्ग किलोमिटर भूमि अतिक्रमण गरेको आरोप लगाए ।
उनले भने, ‘विश्वका हरेक देशको प्रमुख नीति राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु र भौगोलिक अखण्डताको रक्षा गर्नु हो । १८१६ भन्दा पहिले हाम्रो देशको सीमा पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म फैलिएको थियो। सुगौली सन्धिपछि हाम्रो भूगोल खुम्चियो । तर भारतीय पक्षले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमण गरी सैनिक ब्यारेक राख्नुका साथै लिपुलेकसम्म सडक निर्माण गरेको छ ।’
उनले लिपुलेकमार्फत भारत-चीन व्यापार तथा कैलाश मानसरोवर यात्रासम्बन्धी सहमति कार्यान्वयन भइरहेको भन्दै सरकारले यस विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा नसमेटेको आरोप पनि लगाए ।
नीति तथा कार्यक्रमको ‘सीमा विवाद कूटनीतिक संवादबाट समाधान खोजिने’ भन्ने बुँदाप्रति आपत्ति जनाउँदै उनले उक्त क्षेत्रलाई सीमा विवाद नभई अतिक्रमित भूमि भनेर स्पष्ट उल्लेख गर्नुपर्ने माग गरे ।
ठगुन्नाले ती भूभाग नेपालको नक्सामा समावेश भइसकेको र बल प्रयोग गरी अतिक्रमण गरिएको दाबी गर्दै कूटनीतिक पहलमार्फत नेपालको स्वामित्व स्थापित गर्नुपर्ने बताए ।