आइसफल डाक्टर र पथप्रदर्शकद्वारा चुचुरोसम्मै डोरी टाँगियो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
371
Shares
काठमाडौँ । यस वर्षको वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको बाटो औपचारिक रूपमा खुला भएको छ। सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न भएसँगै आरोहण मार्ग खुला भएको पर्यटन विभागले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो।
हिजो बुधबार बिहान १०:२५ बजे सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको मार्ग निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको हो। यस चुनौतीपूर्ण कार्यका लागि आधारशिविरदेखि क्याम्प–२ सम्म आठ जना आइसफल डाक्टर र क्याम्प–२ देखि चुचुरोसम्म ११ जना अनुभवी पथप्रदर्शकहरू संलग्न रहेका थिए।
पर्यटन विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कठिन परिस्थितिमा पनि मार्ग निर्माणमा खटिने सम्पूर्ण पथप्रदर्शक तथा आइसफल डाक्टरहरूप्रति विशेष कृतज्ञता व्यक्त गरेको छ। बाटो खुलेपछि अब आधारशिविरमा प्रतिक्षारत आरोहीहरूलाई शिखरतर्फ अघि बढ्न सहज हुनेछ।