arrow

नौ वर्षपछि ट्रम्प चीनमा : चिनफिङसँग भेट, बोइङसँग ठूलो सम्झौता हुनसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
trump-xi.jpg
तस्बिर फाइल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेइजिङस्थित 'ग्रेट हल अफ द पिपुल'मा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति सी स्वयंले नौ वर्षपछि चीन पुगेका ट्रम्पलाई स्वागत गरेका थिए भने सो अवसरमा ट्रम्पलाई 'गार्ड अफ अनर' प्रदान गरिएको थियो। 

दुई नेताबीचको यो भेटवार्तालाई विश्वले निकै चासोका साथ हेरेको छ। यस भ्रमणको सबैभन्दा चर्चाको विषय अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग हुन लागेको विशाल व्यापारिक सम्झौता हो। रिपोर्टहरूका अनुसार चीनले बोइङबाट करिब ९ लाख करोड रुपैयाँ बराबरको विमान खरिद गर्ने ठूलो सम्झौता गर्न सक्छ। यदि यो सम्झौता भएमा यो विश्वकै सबैभन्दा ठूला एभिएसन डिलमध्ये एक हुनेछ।

व्यापार र प्रविधिलाई लिएर दुई शक्ति राष्ट्रबीच चलिरहेको तनावका बीच हुन लागेको यो बैठकमा व्यापारिक सन्तुलन, ट्यारिफ अर्थात् भन्सार शुल्क, सेमिकन्डक्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा सहकार्य जस्ता गम्भीर विषयमा छलफल हुनेछ। यसका साथै ताइवान मामिला, क्षेत्रीय सुरक्षा, बजार पहुँच र लगानीका अवसरहरू पनि भेटघाटका मुख्य एजेन्डा रहेका छन्। 

राष्ट्रपति ट्रम्पसँगै अमेरिकाका टेक र फाइनान्स क्षेत्रका ठूला उद्योगपतिहरू पनि चीन पुगेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले यी व्यवसायीहरूसँग छुट्टै बैठक गर्ने कार्यक्रम छ । जहाँ लगानी र प्रविधि सहयोगका विषयमा विस्तृत संवाद हुनेछ। 

पछिल्ला केही वर्षदेखि अमेरिका र चीनबीचको सम्बन्धमा निकै उतारचढाव आइरहेको बेला ट्रम्पको यो भ्रमणले दुई देशबीचको आर्थिक र राजनीतिक सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ